काठमाडौं । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनबीच पेट्रोलियम पाइपलाइन र स्मार्ट ग्रीनफिल्ड टर्मिनल निर्माण सम्बन्धि सम्झौता भएको छ । उक्त कार्यका लागि बीटूबी फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८ हजार ९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल निर्माण हुने भएको छ ।
परियोजनाअन्तर्गत अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माणका लागि भारत सरकारले १५ अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ भने बाँकी लागत नेपाल सरकारले जुटाउने छ ।
चितवनको लोथरमा निर्माण हुने ९१ हजार ९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल निर्माणका लागि भारत सरकारले प्राविधिक सहयोग गर्ने छ भने बाँकी निगमको लगानीमा निर्माण हुनेछ ।
सम्झौतामा निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र कर्पोरेशनका निर्देशक सेन्थल कुमारले हस्ताक्षर गरेका छन् ।
भारतको नयाँ दिल्लीमा सम्पन्न हस्ताक्षर समारोहमा भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास सचिव पंकज जैन तथा इण्डियन आयल कर्पोरेशनका अध्यक्ष भि. सतिस कुमारसहित नेपाली प्रतिनिधिहरू उपस्थित थिए ।