होम परिवाग संयुक्त अधिराज्यको लण्डनमा बस्छन् । अध्ययनको क्रममा २ दशकअघि बेलायत पुगेका उनी पछिल्ला वर्ष बारम्बार नेपाल आइरहेका छन् । वर्षको आधा समय बेलायत र आधा नेपालमा रहने परिवाग घुमफिरमा अत्यन्त रुचि राख्छन् । उनले नेपालका अधिकांश पर्यटकीय स्थलका साथै यूरोपका प्रमुख पर्यटकीय गन्तव्य, अफ्रिकाका निकुञ्जहरू र उत्तर अमेरिकी देश भ्रमण गरेका छन् । लेखक, कलाकार र चिन्तकहरूलाई नेपालमा आकर्षित गर्न उनले ललितपुरको गोदावरीमा सुविधासम्पन्न होमस्टे खोलेका छन् । आफ्नो होमस्टेलाई पर्यटन व्यवसायको सानो बिन्दु मान्ने परिवागको पर्यटन र भ्रमणसम्बन्धी अनुभव तथा धारणा यहाँ प्रस्तुत गरिएको छ :
भ्रमण ज्ञानको प्रमुख स्रोत
मानिसलाई जहाँ पुग्दा पनि आफ्नो देशको सम्झना आउँछ । किनकि, हाम्रो अवचेतन मनमा यहाँको जनजीवन, संस्कृति र परिवेशको छाप परेको हुन्छ । देख्दै, अनुभव गर्दै आएका विषयवस्तुको प्रभाव हाम्रो मन वा चेतनामा अमिट रूपमा रहन्छ । यो स्वाभाविक प्रक्रिया पनि हो । यही चेतनाको विस्तारमा भ्रमणले ठूलो टेवा पु¥याउँछ । यसका लागि कुनै पनि नयाँ विषय, ठाउँ, रहनसहन हेर्नु, देख्नु र सुन्नुपर्छ । मानिसलाई नयाँ नयाँ जानकारी वा ज्ञान हासिल गर्ने जिज्ञासा सधैं हुन्छ । तर, एकै ठाउँमा बसेर नयाँ विषयवस्तुको ज्ञान हुन सक्दैन । त्यसैले, भ्रमणलाई ज्ञानको प्रमुख स्रोत मानिन्छ । यो तथ्यलाई हामीले आत्मसात् गर्नुपर्छ ।
पश्चिम नेपाल बढी राम्रो
मलाई पूर्वी नेपालभन्दा पश्चिम नेपाल बढी मन पर्छ । किनभने पश्चिम नेपालको पहाडी जनजीवन मौलिक प्रकारको छ । कर्णालीसँग त आफ्नै सभ्यताको विशिष्टता छ । हुन त पूर्वी नेपालका ताप्लेजुङ, फिक्कल, धरान, भेडेटार पनि राम्रा ठाउँहरू हुन् ।तर तुलनात्मक रूपमा भन्नुपर्दा पश्चिम नेपाल बढी राम्रो लाग्छ । पश्चिम नेपालका बाँके, बर्दिया, सुर्खेत अत्यन्त रमाइला ठाउँ हुन् । कर्णाली क्षेत्र विकट नै भए पनि त्यहाँको सुन्दरता मनमोहक छ । रारा तालसम्म त पुग्न सकेको छैन । तर, पुग्नेहरू त्यसको सौन्दर्यको बयान गरेर थाक्दैनन् । सुदूर पश्चिमको खप्तड क्षेत्र प्राकृतिक छटाको स्वर्गजस्तो लाग्छ । पश्चिम नेपालको हावापानी अत्यन्त स्वच्छ पनि छ ।
पहाड नेपालको पहिचान
हामीले ५ दशकदेखि पर्यटकलाई काठमाडौं, पोखरा र चितवनको सर्किटमात्र घुमायौं । यो सर्किट तोडेर देशका कुनाकाप्चा, शक्तिपीठ र झरना/छाँगा घुमाउनुपर्छ । पूर्वी नेपाल, पश्चिम नेपाल, मध्यपहाड घुमाउन सके त्यो ‘अग्र्यानिक भ्रमण’ बन्न जान्छ । यसले देशभित्रका सबै स्थानमा पर्यटकीय चहलपहल बढ्छ र स्थानीयस्तरमै रोजगारी सृजना हुन्छ । सधैं एकै स्थानमा मात्र पर्यटक लग्यौं भने त्यो ठाउँ ‘ओभररेटेड’ बन्ने खतरा पनि हुन्छ ।
पहाडी स्थान भनेर हामीले विकट क्षेत्र मात्र बुझ्नु हुँदैन । बन्दीपुर, बेनी, तनहुँ, लमजुङ, धनकुटाजस्ता पहाडमा पर्यटक लोभिन्छन् । यही उपत्यकाको गोदावरीको हावापानी यूरोपको जस्तो छ । मेरा परिवारका सदस्य बेलायतबाट नेपाल आउँदा गोदावरी नै बस्न मन पराउँछन् । यहाँ ५ सयभन्दा बढी प्रजातिका चरा पाइन्छन् । बोटबिरुवा, फलफूल र चिसो हावा गोदावरीका विशेषता हुन् । गोदावरीजस्ता धेरै गन्तव्य नेपालका पहाडमा छन् ।
नेपालको पर्यटन अवधारणा नै साँघुरो
हाम्रो पर्यटनले पर्यटकलाई एकोहोरो खर्च गर्न मात्र उत्प्रेरित गरेको छ । पैसा मात्र खर्च हुने ठाउँमा कोही आउन चाहँदैन । केही रचनात्मक तथा सृजनात्मक काम, पृथक् मनोरञ्जन पर्यटकले मन पराउँछन् । हिमाल मात्र हेर्न मात्र लगाएर पर्यटन व्यवसाय दिगो हुन सक्दैन । यसका लागि नयाँ विकल्पको पनि खोजी गर्नुपर्छ । योजनाबद्ध पर्यटन अबको आवश्यकता हो ।
आफैलाई चिनौं
मानिसले आफ्नो आन्तरिक क्षमता चिन्न नसकेर दुःख पाएझैँ स्रोतसाधन पहिल्याउन सकेन भने कुनै पनि देशले विकास र समृद्धि हासिल गर्न सक्दैन । हामीसँग भएको कुन चिजले पर्यटक तान्न सकिन्छ, त्यसैलाई केन्द्रमा राखेर पर्यटन उद्योग सञ्चालन गर्नुपर्छ । नभएको चिजमा जबरजस्ती आकर्षित गर्न खोजे, त्यो कसैलाई मन पर्दैन । प्राकृतिक सुन्दरताका अलावा हामीसँग सांस्कृतिक र साहसिक खेलको सम्भावना धेरै छ । ट्रेकिङ, साइक्लिङ, रक क्लाइम्बिङ, र्याफ्टिङ जस्ता गतिविधिलाई थप व्यावसायिक र व्यवस्थित बनाउन सकियो भने नेपाल पर्यटनका लागि विश्वकै हब बन्न सक्छ ।
प्रस्तुति : निर्भीकजंग रायमाझी