काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । प्रतिऋणपत्र एक हजार रूपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बैंकले निष्कासन गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थामा विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।
सर्वसाधारणमा विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी रहने ११ लाख ४० हजार कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासनमा आउनेछ ।
यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । निष्कासन खुला अवधि छिटोमा फागुन २१ गतेसम्मका लागि तय भएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा चैत ३ गतेसम्म निष्कासन लम्बिनेछ ।
यो ऋणपत्र विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाईनमार्फत समेत आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ ।
बैंकले ऋणपत्रका लागि तोकिएको ब्याज अर्धवार्षिक रूपमा कर कट्टा गरी भुक्तानी गर्ने जानकारी दिएको छ । यस ऋणपत्रमा आर्जित ब्याजमा आयकर ऐन अनुसार प्राकृतिक व्यक्तिमा ६ प्रतिशत र अन्य व्यक्तिलाई १५ प्रतिशत कर लाग्ने समेत बैंकले उल्लेख गरेको छ ।