काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनी पहिलो त्रैमासमा रू. २५ लाख ८८ हजार घाटामा छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. ४५ लाख ९१ हजार नाफामा थियो ।
चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानी ४२ दशलमव २१ प्रतिशत घटेको छ । जस कारण कम्पनी घाटामा रहेको हो ।
गत आवको पहिलो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानी रू. ६ करोड ५२ लाख रहेकोमा चालू आवको सोही अवधिमा रू. ३ करोड ७७ लाखमा झरेको छ । गत साउन र असोज महीनामा आएको बाढीका कारण यस कम्पनीले सञ्चालन गर्दै आएको इन्द्रावती तेस्रो जलविद्युत आयोजना प्रभावित भएपछि विद्युत उत्पादन घटेको वित्तीय विवरण उल्लेख छ ।
कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४६ करोड रहेको छ । कम्पनीको जगेडा कोष रू. १ करोड २४ लाख ऋणात्मक छ । कम्पनी घाटामा रहेसँगै प्रतिशेयर आम्दानी ४२ पैसा ऋणात्मक छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १ सय रुपैयाँ ३१ पैसा छ ।