काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १ अर्ब १५ करोड खुद नाफा आर्जन गरेको छ ।
यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३१ दशलमव ७३ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. ८७ करोड ४१ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
गत आवको तुलनामा कम्पनीको सञ्चालन नाफा ३१ दशलमव ३५ प्रतिशत र खुद ब्याज आम्दानी ६ प्रतिशत वृद्धि भएको छ । चालू आवमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७४ पैसा रहेकोमा चालू आवमा बढेर २३ रुपैयाँ ७४ पैसा पुगेको हो ।
चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ७ दशमलव ५८ गुणा, तरलता अनुपात २९ दशमलव ८८ गुणा र प्रतिशेयर नेटवर्थ रू. १५२ दशमलव ०६ छ । चुक्ता पूँजी रू. १९ करोड ४० लाख रहेको कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. ९ अर्ब ४७ करोड र रिटेन्ड अर्निङमा रू. ६२ करोड ८६ लाख सञ्चिति गरेको छ ।