काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ४१ करोड ३९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीले खुद नाफा ९ दशमलव ३० प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३७ करोड ८६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज कम हुँदा सञ्चालन नाफा बढेसँगै खुद नाफामा समेत वृद्धि देखिएको हो । गत वर्ष २ करोड २१ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष ९९ लाख रुपैयाँभन्दा बढी मात्र भएको हो ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन नाफा ९ दशमलव २८ प्रतिशतभन्दा बढी अर्थात् ५९ करोड ११ लाख रुपैयाँ भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा २१ करोड २४ लाख रुपैयाँभन्दा बढी छ ।
हाल कम्पनीको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । जगेडा कोष रकम गत वर्षभन्दा करीब २३ प्रतिशत बढी अर्थात् २ अर्ब ५९ करोड ६६ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । कम्पनीले पहिलो त्रैमाससम्म गत वर्षभन्दा १०८ दशमलव १३ प्रतिशत बढी ८२ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६ दशमलव ३१ प्रतिशत बढी अर्थात् १८ अर्ब ९३ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ २ पैसा छ ।