काठमाडौं । लगानी बोर्ड नेपालले पहिलोपटक स्वीस च्यालेन्ज अवधारणाअनुसार लगानी आह्वान गर्ने भएको छ । पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज) विकासका लागि लगानी आह्वान यो अवधारणाअन्तर्गत गर्ने निर्णय बोर्डको सञ्चालक समितिले लिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलवार बसेको बोर्डको ६३औं बैठकले उक्त सेज परियोजना विस्तृत अध्ययन, विकास तथा सञ्चालन–व्यवस्थापन सम्बन्धमा प्राप्त प्रस्तावलाई स्वीस च्यालेन्ज अवधारणाअनुरूप प्रतिस्पर्धात्मक प्रक्रियामा लैजाने निर्णय गरेको हो ।
यस विधिअन्तर्गत आशयपत्र आह्वान गर्ने सूचीमा नरहेका परियोजनामा लगानीकर्ताले लगानी प्रस्ताव गर्न सक्छन् । सम्बद्ध निकायले त्यही परियोजनाका लागि अन्य प्रतिस्पर्धी प्रस्ताव पनि मगाएर प्रतिस्पर्धाका आधारमा परियोजना विकास गर्न दिने तरीका स्वीस च्यालेन्ज विधि हो । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ दफा २८ मा स्वीस च्यालेन्स विधिको प्रावधान छ ।