वैशाख २२, नवलपरासी । सरकारले आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गर्ने जनाएसँगै यस क्षेत्रका बासिन्दा खुशी भएका छन् । सरकारका तर्फबाट संसदमा शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फलामखानीको व्यावसायिक उत्पादन थाल्ने घोषणा गरेकोमा आफ्नो क्षेत्रको विकास हुने आशमा यस क्षेत्रका बासिन्दा खुशी भएका हुन् ।
‘फलामखानी सञ्चालनमा आउँदैन कि भन्नेमा चिन्तित थियौं तर सरकारले व्यावसायिक उत्पादन गर्न लागेकामा हामी धेरै खुशी छौं’, हुप्सेकोट गाउँपालिका ४ का रुक्माङगत भुर्तेलले भने, ‘खानी सञ्चालनमा आउँदा यहाँ अन्य सुविधा थपिएला, बाटो राम्रो होला भन्ने लागेको छ ।’ फलामखानी पत्ता लागेको धौवादी आसपासका क्षेत्रमा पुग्न अहिले निक्कै कठिन छ । सडकको अवस्था जीर्ण छ । एकाध सवारीसाधान चल्ने गरेका छन् । यस क्षेत्रमा खानेपानीको पनि निक्कै समस्या छ ।
धौवादी आसपासका धेरै क्षेत्रमा अझै राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्न सकेको छैन । फलामखानीको उत्पादन शुरु गर्नुपूर्व यस क्षेत्रमा सडक, विद्युत, खानेपानीको सुविधा होला भन्नेमा यस क्षेत्रका बासिन्दा आशावादी भएका हुन् । ‘फलाम खानी छ भन्ने मात्र थियो, पाँच/छ वर्षसम्म यत्तिकै रहँदा उत्खनन हुन्छ/हुँदैन भन्ने अन्यौलमा थियौं, अहिले सरकारले चासोका साथ आगामी आर्थिक वर्षदेखि नै उत्पादन गर्ने भन्ने सुन्दा हामी खुशी छौं’, हुप्सेकोटका झविलाल राना मगरले भने,‘अब यो पहाडमा विकास हुने आशा जागेको छ ।’
वि.सं. २०६८ मा खानी तथा भूगर्व विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा फलाम खानी फेला पारेको थियो । सात वर्षपछि यसको परीक्षण गर्दै उत्पादन गर्न सरकार अग्रसर भएको हो । पूर्व- पश्चिम राजमार्गदेखि करीब १६ किलोमिटरको दूरीमा हुप्सेकोट गाउँपालिकाअन्तरगत् पर्ने धौवादी क्षेत्रमा फलामखानी छ । यहाँको १० किलोमिटर आसपासका क्षेत्रसम्म फलामखानी रहेको जनाइएको छ । धौवादीको फलामखानी अहिलेसम्म फेला परेको खानीमध्ये नेपालकै ठूलो खानी भएको भूर्गभविद्ले बताएका छन् ।
नीति तथा कार्यक्रममा फलाम खानी परेसँगै झ्यालबास, रुम्सी, रामकोट, पोखरी, ल्हापे, धौवादी क्षेत्रका बासिन्दालाई यस क्षेत्रको विकास हुन्छ भन्ने आशासमेत जागेको छ । सरकारले फलामखानीबाट फलाम उत्पादन गर्ने भन्ने कुरा थाहा पाउँदा रुम्सीका पूर्णबहादुर आलेलाई गाउँमै रोजगार पाइएला भन्ने आश छ । फलामखानीसम्म पुग्ने सडक अहिले निर्माण भइरहेको छ । पहिलो चरणमा सडक विभागले झ्यालबासदेखि करीब चार किलोमिटरको ट्रयाक खोल्ने काम अघिल्लो वर्ष नै गरेको थियो । करीब रू. ६ करोडको बजेटमा ट्रयाक खोलिएको थियो ।
अहिले पनि यस क्षेत्रमा रू.५ करोड बराबरको बजेटमा थप पाँच किलोमिटर ट्रयाक खोल्ने, ग्याविन भर्ने, एक किलोमिटरमा ग्राभेल गर्ने, नाला निर्माण गर्नेलगायतका कामहरु सञ्चालन गर्न लागिएको सडक विभागका सब–इञ्जिनीयर नवीन पाण्डेले बताए । सरकारले प्रत्येक वर्ष प्राथामिकतामा पारेर बजेट विनियोजन गर्दै आएको र सोहीअनुसार सडक निर्माणको काम सञ्चालन भइरहेको उहाँले बताए । रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.