काठमाडौं । पिपुल्स् हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि सर्वसाधारणमा जारी गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिसम्म मात्र विक्री खुला गर्न लागेको हो ।
कम्पनीको आईपीओमा सोमवारसम्म ९ लाख १९ हजार १०४ जनाले १ करोड ९ लाख ६३ हजार १० कित्ता शेयर खरीदका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दामा शेयर बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ जारी गरेको हो । स्थानीयमा आईपीओ बाँडफाँट गर्दा वितरण नभएको ८ लाख ६ हजार ३९० कित्ता शेयरसमेत जोडेर कम्पनीले सर्वसाधारणमा कुल ५६ लाख ६ हजार ३९० कित्ता शेयर वितरण गर्न लागेको हो ।
प्रतिकित्ता रू. १०० अंकित दरको कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार १९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । यी वाहेक बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर वेबसाइट र एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म यो शेयर खरीद माग गर्न सक्ने व्यवस्था रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्स नेपालले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
यस कम्पनीले लमजुङ्ग जिल्लामा ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजना “ख” को निर्माण कार्य गरिरहेको छ । यस आयोजनाको निर्माण कार्य ९२ प्रतिशत सम्पन्न भैसकेको जानकारी कम्पनीले आव्हानपत्र मार्फत गराएको छ । यस आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसहित रू. १० अर्ब ३९ करोड हुने अनुमान गरिएको छ ।
प्रतिमेगावाट लागत भने रू. १९ करोड २४ लाखभन्दा बढी हुने अनुमान कम्पनीको छ । हाल संस्थापक तर्फ रू. २ अर्ब ४० करोड चुक्तापूँजी रहेको कम्पनीले सर्वसाधारणमा समेत शेयर जारी पश्चात् यो पूँजी रू. ३ अर्ब २० करोड कायम हुनेछ ।