कास्की । पोखराको प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै बढीभन्दा बढी पर्यटक आकर्षित गर्न पर्यटनमैत्री पूर्वाधार निर्माणका लागि भारतीय जनता पार्टी उत्तर प्रदेशका प्रवक्ता राकेश त्रिपाठीले सुझाव दिएका छन् । निजी भ्रमणको क्रममा पोखरा आएका प्रवक्ता त्रिपाठीले पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । उनले फेवाताल, गुप्तेश्वर गुफालगायत पोखराका अन्य पर्यटकीय स्थलको सुन्दरताबाट आफू प्रभावित भएको बताए ।
नेपालसँग भारतको सामाजिक र सांस्कृतिक सम्बन्ध निकै निकटको रहेको भन्दै उनले पोखरा र समग्र नेपाललाई भारतमा प्रवर्द्धनका लागि आफू र आफ्नो दलले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पोखरा लेखनाथ महानगरप्रमुख मानबहादुर जीसीले पोखराको पर्यटकीय विकासका लागि महानगरले पर्यटनमैत्री पूर्वाधार निर्माण गर्ने दिशातर्फ अग्रसरता लिएको जानकारी गराए । सन् २०२० लाई नेपाल भ्रमण वर्ष बनाउन यहाँका पर्यटकीय पूर्वाधारको विकासका लागि महानगर सचेत रहेको उनले बताए ।
पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले भारतमा पोखरालाई प्रवर्द्धन गर्ने उद्देश्यले छलफल कार्यक्रम आयोजना गरिएको बताए । तुलाचनले भारतका केही शहरलाई लक्षित गरी ‘चलिए पोखरा’ अभियान पुनः शुरू गरिने जानकारी गराए । सङ्घको अगुवाइमा गतवर्ष असारदेखि ५ दिने ‘चलिए पोखरा’ अभियान कार्यक्रम विहारको पटना, उत्तर प्रदेशको लखनउ र गोरखपुरमा सञ्चालन गरिएको थियो ।
अन्य देशको तुलनामा अहिले पोखरा भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या अधिक रहेको छ । सन् २०१७ मा नेपाल भित्रिएका ९ लाख ४० हजार विदेशी पर्यटकमध्ये १ लाख ६१ हजार भारतीय पर्यटक रहेको नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.