पोखरा । पोखरामा भित्रिने साहसिक पर्यटकको वृद्धिसँगै प्याराग्लाइडिङ व्यवसायमा लगानीसमेत बढ्न थालको छ । चालू आवमा मात्र तीनओटा प्याराग्लाइडिङ कम्पनी थपिएका छन् । त्यस्तै, करीब करीब २ दर्जन कम्पनी थपिने प्रक्रियामा रहेको हवाई खेलकुद संस्थाका उपाध्यक्ष शोभित बानियाले बताए । तीन कम्पनी थपिएसँगै पोखरामा प्याराग्लाइडिङ कम्पनीको सेवा २२ पुगेको छ । थपिएका नयाँ कम्पनीहरूमा हनुमान प्याराग्लाइडिङ, ३६० प्याराग्लाइडिङ र ओपनस्काई प्याराग्लाइडिङ छन् । प्रक्रियामा रहेका २ दर्जनभन्दा बढी कम्पनीले केही महीनाभित्र स्वीकृति पाउने सम्भावना रहेको उनको भनाइ छ । उडेर पोखरावरपरको सुन्दर दृश्य अवलोकन गर्न पाइने भएकाले पर्यटकहरू प्याराग्लाइडिङ खेलप्रति आकर्षित हुने गर्छन् ।
पछिल्लो समय चिनियाँ पर्यटकको वृद्धिले प्याराग्लाइडिङ कम्पनीलाई सेवा प्रदान गर्न भ्याइनभ्याइ छ । पोखरामा मात्र सिजनमा दैनिक करीब २ सय पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको बानियाँले जानकारी दिए । अहिले स्थापना भएका नयाँ कम्पनीले पोखराको तोरीपानी र मान्द्रेढुङ्गा क्षेत्रबाट उडान थालेका छन् । यसअघि नै स्थापना भएका कम्पनीहरूले भने प्रसिद्ध पर्यटकीय स्थल सराङकोटबाट उडन गर्दै आएका छन् । सराङकोटबाटै थप उडान गर्दा भीड बढ्ने भएकाले नयाँ स्थलबाट उडानका लागि पर्यटन मन्त्रालयले स्वीकृति दिएको उनको भनाइ छ । तोरीपानीबाट उड्ने पर्यटक चङ्खपुर र मान्द्रेढुङ्गाबाट उड्ने पर्यटक पामेमा झर्नुपर्छ । सराङकोटबाट उडान गरिरहेका पुराना कम्पनीले खपौदीमा अवतरण गरिरहेका छन् । भर्खरै सञ्चालनमा आएको ३६० प्याराग्लाइडिङले दैनिक १८ उडानबाट व्यवसाय थालेको सञ्चालकमध्येका निरललित प्रियाले बताए । उनीसहित चूडामणि बराकोटी र अनन्तराज पौडेलको संयुक्त लगानी रहेको कम्पनी पुस २१ बाट व्यावसायिक सञ्चालनमा आएको हो । त्यस्तै, ओपनस्काई प्यालाग्लाइडिङले २ महीनाअघि व्यावसायिक उडान शुरू गरेको कम्पनीका सञ्चालक प्रज्वल रञ्जितले जानकारी दिए । हनुमान प्याराग्लाइडिङले भने भर्खरै व्यावसायिक उडान थालेको छ ।
प्याराग्लाइडिङ कम्पनीहरूले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी छुट्टाछुट्टै प्याकेज कार्यक्रम ल्याएका छन् । ती कम्पनीले २० देखि ३० मिनेट र ४० देखि ६० मिनेटको प्याकेजमा उडान गर्दै आएको बानियाँले बताए । उनका अनुसार २० देखि ३० मिनेटको प्याकेजका लागि विदेशी पर्यटकले ८ हजार ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्छ । तर, त्यही प्याकेजका लागि स्वदेशी पर्यटकलाई भने ५ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै, ४० देखि ६० मिनेटको प्याकेजका लागि विदेशी पर्यटकले ११ हजार ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्छ । सो प्याकेजका लागि आन्तरिक पर्यटकलाई भने ८ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । ‘आन्तरिक पर्यटकलाई बढाउने उद्देश्यले विशेष छुूटको व्यवस्था गरिएको छ,’ उनले भने, ‘पछिल्लो समयमा प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ ।’ सन् २००५ पछि प्याराग्लाइडिङ गर्ने नेपाली पर्यटक बढेका हुन् । फेब्रुवरी, मार्च, अक्टोबर र नोभेम्बरमा पोखरामा प्याराग्लाइडिङ गर्ने पर्यटक बढी हुन्छन् ।
तस्वीर सौजन्य : ३६० प्याराग्लाइडिङ कम्पनी