काठमाडौं । चितवनको मेघौली र भरतपुरमा करीब २ दशकअघि १२ करोड रुपैयाँ लगानीमा मोडर्न ह्याचरी र पार्क पोल्ट्री फार्म सञ्चालन गरेका प्रभु थापामगर यतिबेला दुईओटै फार्म बन्द गरेर बसेका छन् । बन्द गर्नुको मुख्य कारण कोरोना महामारीपछि बजारमा मागको अभाव भएको उनी बताउँछन् ।
उनको फार्ममा हप्तामा ४० हजार ब्रोइलर र ३० हजार लेयर्स चल्ला उत्पादन हुन्थ्यो । तर, खस्किएको बजारमा चल्ला विक्री हुन छाडेपछि कुखुरा फार्म नै बन्द गर्नुपरेको उनले बताए । ‘कोरोना महामारीका कारण खस्किएको पोल्ट्री व्यवसाय महामारीपछि पनि निरन्तर ओरालो लागिरह्यो,’ उनले भने, ‘भारतीय कुखुरा अवैधानिक रूपमा भित्रिने क्रम पनि रोकिएन । त्यसैले उद्योग नै बन्द गरेको हुँ ।’
नेपाल ह्याचरी उद्योग संघका अनुसार संघमा आबद्ध अधिकांश ह्याचरी हाल बन्द अवस्थामा छन् । कोरोनापछि निरन्तर घाटा सहन नसकेर नेपाल ह्याचरी उद्योग संघमा दर्ता भएका ३५१ ह्याचरीमध्ये २७१ बन्द भएको संघका उपाध्यक्ष बलराम सञ्जेलले जानकारी दिए । ‘हाल संघमा आबद्ध ८० ओटा ह्याचरी मात्रै सञ्चालनमा छन्,’ उनले भने ।
प्रतिहप्ता चल्ला उत्पादन ५५ लाखबाट २२ लाखमा ओर्लियो । मासु उत्पादनमा डेढ लाख मेट्रिक टनले कमी
ह्याचरी उद्योग धमाधम बन्द हुन थालेपछि सरकारले एकमात्र आत्मनिर्भर उद्योगका रूपमा घोषणा गरेको क्षेत्र संकटको अवस्थामा पुगेको व्यवसायीले बताएका छन् । भारतसँगको खुला सिमानाका कारण अवैध रूपमा सस्तो मूल्यमा चल्ला, मासु र अण्डा आयात हुनु, स्वदेशी मासुको खपत घट्नु, कच्चा पदार्थको आयातमा भन्सार शुल्क बढ्नुजस्ता कारणले चल्लाको माग अस्वाभाविक रूपमा घटेकाले ह्याचरीहरू बाध्यतावश बन्द भएको सञ्जेलले बताए ।
संघका अनुसार कोरोना महामारीअघि ह्याचरीले प्रतिहप्ता ५५ लाख चल्ला उत्पादन गर्थे । ‘अहिले उत्पादन घटेर २२ लाखमा सीमित छ,’ सञ्जेलको दाबी छ । उनका अनुसार बजारमा चल्लाको माग पनि घटेको छ । बजार अभावले पनि ह्याचरी बन्द गर्नुपरेको हो ।
सरकारी तथ्यांक हेर्दा कोरोना महामारीपछि नेपालमा मासु उत्पादन घटेको देखिन्छ । आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार त्यस वर्ष नेपालमा मासु उत्पादन ५ लाख १२ हजार मेट्रिक टन भएकोमा आव २०७९/८० मा करीब साढे ३ लाख मेट्रिक टनमा सीमित भएको देखिन्छ । आर्थिक सर्वेक्षण २०८०/८१ मा उल्लेख भएअनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा खसी तथा हाँसको मासु उत्पादनमा वृद्धि भए पनि राँगा, भैंसी, भेडा, सुँगुर/बंगुर तथा कुखुराको संख्यामा आएको कमीका कारण कुल मासु उत्पादन १६ दशमलव १ प्रतिशतले घटेर ४ लाख ३० हजार मेट्रिक टनमा सीमित भएको छ ।
कोरोना महामारीपछि शुरू भएको रूस–युक्रेन युद्धले पनि कुखुराको दानामा प्रयोग हुने वस्तुको भाउ बढ्यो । कुखुराको दाना उत्पादन गर्दा प्रयोग हुने करीब ९० प्रतिशत कच्चा पदार्थ व्यवसायीले बाह्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था रहेको सञ्जेलको भनाइ छ ।
‘दानामा सबैभन्दा बढी प्रयोग हुने मकै आयात ९० प्रतिशत नै विदेशबाट हुन्छ । अहिले सरकारले आयात गर्दा मकैमा ५ प्रतिशत र भटमासमा ९ प्रतिशतसम्म भन्सार लिने गरेकाले दाना उत्पादन महँगो हुँदा साना किसान टिक्न सक्ने वातावरण नभएको उनले बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार आव २०७८/७९ मा नेपालमा करीब साढे ९ लाख हेक्टर जमीनमा ३१ लाख मेट्रिक टन मकै उत्पादन भएको थियो । सोही वर्ष १९ अर्ब ६४ करोड रुपैयाँ बराबरको ५३ लाख ९ हजार मेट्रिक टन मकै आयात भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ४ प्रतिशत योगदान रहेको पोल्ट्री उद्योगमा २ खर्ब रुपैयाँभन्दा बढी लगानी छ । यो क्षेत्रले ५ लाख जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ ।