काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको बैंकिङ सेवा ५ दिनसम्म बन्द हुने भएको छ । प्राप्तिमा जान लागेका दुई बैंकले तथ्याङ्क मिलानको लागि पुस २२ गतेदेखि २६ गतेसम्म सम्पूर्ण बैंकिङ सेवा बन्द गर्न लागेका हुन् ।
एकीकृत कारोबार गर्नु अघि पुस २२ गते शुक्रवार राति १० बजेदेखि २६ गते मंगलवार विहान ९ः४५ बजेसम्म दुवै बैंकको केन्द्रीय कार्यालयदेखि सम्पूर्ण शाखा कार्यालयबाट प्रदान हुने सबै सेवा बन्द रहने बैंकले जानकारी दिएको छ ।
यो अवधिमा मोबाइल बैंकिङ देखि इन्टरनेट बैंकिङसम्मका सेवा बन्द रहने भएकाले बैंकका सेवाग्राहीले त्यसै अनुसार पूर्व तयारी गर्न आग्रह गरिएको छ ।
बैंकले यो बीचमा प्राप्ति प्रक्रिया पूरा गरी पुस २६ गतेदेखि एकीकृत कारोबार शुरू गर्ने जानकारी दिएका छन् । यी दुई कम्पनीबीच गत साउन २५ गते प्राप्ति सम्झौता भएको थियो । प्राप्ति सम्झौता गरेको पाँच महीनामै यी बैंकले एकीकृत कारोबार शुरू गर्न लागेका हुन ।
नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्न पुस १९ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएसँगै यी दुई बैंकले एकीकृत कारोबार शुरू गर्न लागेका हुन ।
प्रभुले १ बराबर १ शेयर अनुपातमा सेञ्चुरीलाई प्राप्ति गरेको हो । दुवै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेका छन् । सेञ्चुरीलाई प्राप्तिपछि बैंकको नाम प्रभु बैंक नै रहनेछ । प्राप्ति पश्चात् बैंकको केन्द्रीय कार्यालय हालको प्रभु बैंकको केन्द्रीय कार्यालय रहेको स्थान, बबरमहल, काठमाडौंमै रहनेछ ।
प्रभु बैंकले यस वर्ष ६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनसपछि बैंकको चुक्तापूँजी रू. १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार पुग्नेछ । त्यस्तै सेञ्चुरी कमर्सियल बैंकले यस वर्ष ४ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ । बोनस पछि सेञ्चुरीको चुक्तापूँजी रू. १० अर्ब ७७ लाख १९ हजार पुग्नेछ ।
दुबै बैंकले गत पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर धितोपत्र दोस्रो बजारमा भने सूचीकृत हुन बाँकी छ । यी दुई बैंक एक भएपछि चुक्तापूँजी रू. २३ अर्ब ५४ करोड २४ लाख ८८ हजार पुग्नेछ ।