फागुन १, कास्की । गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा प्रदेश भित्रका विभिन्न संघसंस्था र व्यक्तिहरुलाई ६९ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निणर्य गरेको छ ।
सरकारले पोखरामा आयोजना गर्ने नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशनको लागि आर्थिक सहयोग गर्नेदेखि दिवंगत भएका गण्डकी प्रदेश सभा सदस्य स्व. टेकबहादुर घर्तीमगरको परिवारलाई आर्थिक सहयोग लगायत अन्य व्यक्ति एवम् संस्थालाई आर्थिक सहयोग दिने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।
२ महीनाअघि निधन भएका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीमगरको परिवारलाई १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको मन्त्री चुमानले बताए । घर्तीको मङ्सिर अन्तिम साता जण्डिसका कारण भारतमा उपचारको क्रममा मृत्यु भएको थियो ।
त्यसैगरी सरकारले नीति तथा योजना आयोगमा रिक्त रहेको महिला सदस्यको पदमा नवलपुर गैंडाकोट–८ निवासी डा. भीमा ढुगांनालाई नियुक्त गरेको छ । त्यसैगरी प्रदेश स्थापना दिवसको अवसरमा पुरस्कृत गरिने कर्मचारीहरुको छनोटका लागि प्रमुख सचिव लक्ष्मीराम पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हलुका सवारी चालक पदमा ३ जनालाई करारमा लिने निर्णय भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले पेश गरेको बहुवर्षीय ठेक्का निर्देशिका पारित भएको छ । त्यसैगरी उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले पेश गरेको विज्ञान प्रविधि प्रतिष्ठान विधेयक, २०७५ का लागि प्रदेश सभामा लैजान सैद्धान्तिक सहमति दिने निर्णय गरिएको छ ।
उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले पेश गरेको औद्योगिक ग्राम सम्बन्धी मापदण्ड एवम् स्थापना तथा विकास कार्यविधि, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चित गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमति दिइएको छ ।
त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालय संघीय सरकारमार्फत प्रदेश सरकारलाई हस्तान्तरण भइसकेकोले ११ ओटै जिल्लामा प्रदेश मातहतका स्वास्थ्य कार्यालय स्थापना गर्ने, गर्भवती तथा सुत्केरी महिलाको जटिलता व्यवस्थापनको लागि सुविधा सम्पन्न अस्पतालमा पुर्याउने इयर लिफ्टिङ कार्यविधि, २०७५ पारित भएको छ ।
समितिको सिफारिसमा प्रदेश सरकारले हेलिकोप्टर मार्फत उद्धार गरी अस्पतालसम्म पुर्याउने निःशुल्क सेवा यस कार्यविधिमा उल्लेख छ ।