विराटनगर । भारतीय खानेतेल उद्योगीहरूले नेपालबाट भारत निर्यात भइरहेको वनस्पति तेलको निकासी नियन्त्रण गर्न आग्रह गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विभिन्न मन्त्रीहरूलाई हालै चिठी लेखेपछि नेपालमा वनस्पति तेल उद्योग सञ्चालन गरिरहेका उद्योगीहरू चिन्तित बनेका छन् ।
भारतले सन् २०२४ को सेप्टेम्बरमा अन्य देशबाट आयात गरिने कच्चा भटमासको तेल, सूर्यमुखी तेल र पाम तेलमा भन्सार बढाएपछि शून्य भन्सारको सुविधाका कारण नेपालबाट प्रशोधित भटमास र सूर्यमुखी तेलको निर्यात ह्वात्तै बढेको छ । भन्सार बढाए पनि पाम तेलको निर्यात भने निकै न्यून रहेको भन्सार विभागले बताएको छ ।
भारतले गत सेप्टेम्बरको शुरूमै कच्चा भटमास, सूर्यमुखी तेल र पाम तेलमा लाग्दै आएको भन्सार दर शून्यबाट बढाएर २० प्रतिशत पुर्याएको थियो । तर, अन्य करसहित कच्चा तेल आयातमा लाग्ने जम्मा करको दर २७ दशमलव ५ प्रतिशत हुने भारतीय सरकारले बताएको छ । नेपाल र भारतबीच भएको व्यापार सन्धिअनुसार नेपालले शून्य भन्सारमा भारतमा सामान निर्यात गर्न पाउँछ । त्यसैको फाइदा उठाउँदै नेपाली व्यापारीले यी तेल प्रशोधन गरी भारत निर्यात बढाएका हुन् ।
नेपालबाट प्रशोधित तेलको निर्यात उच्च रूपमा बढेपछि भारतमा प्रशोधन उद्योग चलाइरहेका उद्योगीहरूले मोदी गुहारेका हुन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार चिठीमा भारतीय उद्योगहरूले प्रधानमन्त्री मोदीलाई नेपालबाट हुने प्रशोधित तेल आयात तत्काल नियन्त्रण गर्न आग्रह गरेका छन् । उनीहरूको दाबीअनुसार साफ्टाको प्रावधानअनुसार विनाभन्सार नेपालबाट प्रशोधित तेल जाँदा भारतका प्रशोधन उद्योग, किसान र सरकारी राजस्वमा असर परेको छ ।
- यसरी प्रधानमन्त्री मोदीलाई नियन्त्रणमुखी कदम चाल्न भारतीय उद्यागीहरूले आग्रह गरेपछि नेपालमा प्रशोधन उद्योग चलाइरहेका उद्योगीहरू चिन्तित बनेका हुन् ।
- बागमती आयल इन्डस्ट्रिजका सञ्चालक तथा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले भारतीय उद्योगहरूको कदम चिन्ताको विषय भएको बताए ।
तर, भारतको तेल खपत समुद्र जस्तो र आफूहरूका उद्योगले पठाएको तेलको परिमाण लोटा जस्तो मात्र भएकाले नेपालबाट निकासी हुने तेलले भारतको तेल उद्योगमा खासै असर नगर्ने हुँदा भारतीय प्रशोधन उद्योग चलाउनेहरू चिन्तित हुनुपर्ने स्थिति नभएको उनले बताए ।
‘नेपालको उत्पादनले भारतको एउटा प्रान्तको पनि माग धान्न नसक्ने भएकाले नेपालको वनस्पति तेल भारत जाँदा त्यहाँको बजारमा खासै कुनै उथलपुथल हुँदैन,’ राठी भन्छन्, ‘यो समस्याको समाधान गरी नेपालका उद्योग बचाउन दुवै देशका सरकारबीच वार्ता हुनुपर्छ ।’
कोशी प्रदेशमा आठओटा वनस्पति तेल उद्योग छन् । तिनले आफ्नो उत्पादन नेपाल र भारतबीचको व्यापार सन्धि र दक्षिण एशियाली खुला व्यापार सन्धि (साफ्टा) अन्तर्गत शून्य भन्सार शुल्कमा भारत निकासी गर्दै आएका छन् । विराटनगर भन्सार कार्यालयबाट निकासी भएका वस्तुको सूचीमा पहिलो नम्बरमा वनस्पति तेल नै रहँदै आएको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ६ महीनामा प्रशोधित भटमासको तेल १८ अर्ब ९१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । जबकि अघिल्लो आव सोही अवधिमा ४१ करोड ५१ लाख रुपैयाँ बराबरको मात्र भटमासको तेल निर्यात भएको थियो । त्यसैगरी, प्रशोधित सूर्यमुखी तेलको निर्यात यो वर्ष ६ महीनामा ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको भयो । गतवर्ष उक्त अवधिमा १४ करोड ८७ लाख रुपैयाँ बराबरको निकासी भएको थियो ।
विराटनगर भन्सार कार्यालयका अनुसार पुसमा निकासी भएको वस्तुमा पहिलो नम्बरमा भटमासको तेल छ । पुसमा ३ अर्ब रुपैयाँ बराबरको १ करोड ४६ लाख केजी भटमासको तेल निकासी भएको छ । दोस्रो नम्बरमा रहेको सूर्यमुखी तेलको निकासी पुसमा १ अर्ब ६ करोड रुपैयाँ बराबरको १० लाख ८० हजार केजी छ ।
विराटनगर भन्सारको तथ्यांकअनुसार आव २०८०/८१ को ६ महीनामा भटमासको तेल १७ लाख ८८ हजार ७७० किलोग्राम निकासी भई ३८ करोड ४० लाख ७८ हजार रुपैयाँ प्राप्त भएको थियो । गतवर्ष भने सूर्यमूखी तेल निकासी भएको थिएन । चालू वर्षको ६ महीनामा भटमासको तेल २ करोड ७२ लाख ८४ हजार किलो निकासी भएको छ । यसको मूल्य ५ अर्ब ४२ करोड ६४ लख ४० हजार रुपैयाँ छ । सूर्यमुखी तेल १ अर्ब ३४ करोड ८ लाख १९ हजार रुपैयाँ मूल्यको २६ लाख ३७ हजार ४४९ किलोग्राम निकासी भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यसरी निर्यात बढेपछि भारतीय उद्योगीको चिन्ता बढको हो । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष तथा बाबा भेजिटेबल आयल इन्डस्ट्रिजका सञ्चालक प्रकाश मुन्दडाले साफ्टाअन्तर्गत प्राप्त भएको सुविधा नै कार्यान्वयन गरिनुपर्ने माग गर्दै साफ्टाअन्तर्गत सुविधा नपाउने अवस्था आएमा कोटा प्रणालीमार्फत भारत निकासी सहज गरिनुपर्ने बताए ।
नेपाल वनस्पति घिउ तेल उत्पादक संघका केन्द्रीय सदस्य विपिन काबराले भारत सरकारले साफ्टा सुविधा प्रयोग गर्दै नेपालमा सयौं उत्पादन पठाइरहेको र आफूहरूले उत्पादन गरेको वनस्पति तेल पठाउँदा आपत्ति प्रकट गर्न नहुने उल्लेख गरे । साफ्टा सुविधा दुवै मुलुकले प्रयोग गर्ने भएकाले नेपालमा उत्पादित वनस्पति तेलको निर्वाध निकासी हुनुपर्ने बताए । नेपाल–भारत व्यापार सन्धिको मर्म हेर्ने हो भने पनि नेपाली उत्पादनलाई भारतीय बजारमा निर्वाध प्रवेश दिइनुपर्ने उनले बताए । भारतको माग र आपूर्ति शृंखलामा नेपालले गर्ने योगदान नगन्य रहेकाले त्यहाँको बजारमा नेपालको प्रभुत्व रहेको भन्नु आफैमा हास्यास्पद हुने उनले बताए ।
मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठीले सरकारले उद्योग पनि चल्न दिने र निकासी पनि सुचारु हुने गरी पहल गर्नुपर्ने बताए । सरकार उद्योगलाई प्रोत्साहन गर्ने किसिमको नीतिमा अडिग रहनुपर्ने भन्दै राठीले थपे, ‘नेपाल सरकार र भारत सरकारबीच यहाँका उद्योग पनि बाँच्ने र भारतीय बजारमा पनि समस्या नआउने गरी वार्ता गर्नुपर्छ ।’