पश्चिमाञ्चल विकास क्षेत्रको मध्यपहाडी जिल्ला हो– पर्वत । नेपालका ७५ जिल्लामध्ये यो चौथो सानो जिल्ला हो । पर्वत भौगोलिक विविधताले भरिएको एक रमणीय जिल्ला मानिन्छ । यस जिल्लाको कुल क्षेत्रफल ५३६ दशमलव ८६ वर्गकिमी छ । समुद्री सतहबाट ५ सय २० मिटर उचाइमा रहेको सेतीवेणीदेखि ३ हजार ३ सय ९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भूभाग यस जिल्लामा पर्छ ।
उत्तर हम्पाल र लोप्रेका लेकहरू, मध्य भागमा पञ्चासे, डहरे तथा दक्षिणी भागमा चिसापानी र गोल्र्याङ्ग पर्वत जिल्लाका अग्ला चुचुरा हुन् । यी चुचुरालाई शिशिरमा हिउँले ढाक्ने र वसन्तमा लेकाली जडीबुटी, वन्यजन्तु तथा लालीगुराँसलगायत फूलले सजाएको अनुभूति गर्न सकिन्छ । उत्तरी क्षेत्रमा देखिने हिमशृङ्लाका मनमोहक दृश्य र बिहानीको सूर्योदयको सुन्दरताले यस जिल्लाले पर्यटकलाई आकर्षण गर्ने हुँदा यहाँ पर्यटन विकासको प्रशस्त सम्भावना रहेको छ । कुश्माको गुप्तेश्वर, ज्ञादीको अलपेश्वर, पाङ्गको भुवनेश्वरी, बर्राचौरको शीतलपाटी र लुङ्खुको चनौटे भीरमुनिको ढाउ गुफा यस जिल्लाका प्रसिद्ध गुफा हुन् । मोदीवेणीको नरसिंह मन्दिर, सेतीवेणीको शालिकग्राम शिला, धाइरिङ्गको भूमे, लुङ्खु चिसापानीको कालिका देवी मन्दिर, महाशिला, मेलढुङ्गा तथा कुश्मा, आर्थर र भोर्लेका बौद्ध गुम्बाहरू, ठूली पोखरीको बाटुलेचौर, होस्रादीको पैंयुकोट एवम् धुवाकोटको ऐतिहासिक दरबार–किल्ला, माझफाँटको कर्णेलको दरबार धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन् ।
राजनीतिक विभाजन
पर्वत जिल्लालाई दुई निर्वाचन क्षेत्र, ११ इलाका, ५५ गाविस र ४ सय ९५ वडामा विभाजन गरिएको छ । जनगणना २०६८ अनुसार यस जिल्लाको जनसङ्ख्या १ लाख ४६ हजार ५ सय रहेको छ । पुरुष सङ्ख्या ६५ हजार ३ सय १ र महिला सङ्ख्या ८१ हजार २ सय ८९ रहेको छ । मानवीय विकासक्रमका दृष्टिले १५औं स्थानमा पर्ने यस जिल्लामा ब्राह्मण, क्षत्री, मगर, कामी, गुरुङ, दमार्इं, सार्की, नेवार, घर्ती, सन्न्यासी, कुमाल, बोटे, माझी, थकाली र मुस्लिम आदि जातिको बसोबास रहेको छ । यहाँ १० स्वास्थ्य चौकी र ४२ उपस्वास्थ्य चौकी छन् । ५५ ओटै गाविसमा आधारभूत स्वास्थ्य सुविधा पुगेको छ । जिल्लामा रहेका चारओटा आयुर्वेदिक केन्द्रले स्वास्थ्य सेवामा थप सहयोग पुर्याएका छन् । शिक्षाक्षेत्रमा पनि यो जिल्ला अगाडि देखिन्छ । यहाँ ३ सय २८ सामुदायिक विद्यालय रहेका छन् । यसमा २ सय १७ प्राथमिक, ३४ निम्नमाध्यमिक, ४२ माध्यमिक र ३५ उच्च माध्यमिक विद्यालय छन् । निजी विद्यालयको सङ्ख्या पनि उल्लेख्य छ ।
विद्युत्मा अगाडि
पर्वतको पश्चिमी भागमा कालीगण्डकी र मध्यभागमा मोदीखोला रहेको छ । ऊर्जा नदीको नामले चिनिने मोदीखोलामा सरकारका तर्फबाट १४ दशमलव ८ मेगावाट र १० मेगावाट विद्युत् युनाइटेड मोदी हाइड्रोपावरबाट उत्पादन भई केन्द्रीय प्रसारणमा जोडिसकिएको छ । २० मेगावाट क्षमताको मनाङ ट्रेडको तल्लो मोदी आयोजना निर्माणाधीन अवस्थामा छ । त्यस्तै, मध्यमोदी जलविद्युत् आयोजनाले छिट्टै काम थाल्दै छ ।
पर्वत सानो जिल्ला भए तापनि हावापानीको विविधताले धरातलीय स्वरूपमा ठूलो अन्तर रहेको छ । त्यसैले तरकारी, बीउबिजन, अदुवा, आलु, अलैंची, कफी, बेसारजस्ता खेतीमा यो जिल्ला अगाडि छ । लप्सी, केरा, लिची, आरु, ओखर नास्पाती र सुन्तलाजस्ता फलफूल यहाँ प्रसस्त उत्पादन हुन्छन् । यस जिल्लामा लप्सीको राम्रो उत्पादन हुने भएकाले यहाँ यसको व्यावसायिक खेती गर्न थालिएको छ । जिल्लालाई ‘लप्सी जिल्ला’ घोषणा गरिएको छ । बाख्रा, कुखुरा, बङ्गुर, खरायो, गाईभैंसी पशुपालन व्यवसायका मुख्य आधार हुन् ।
उद्यमशीलताको विकास
लघु उद्यम विकास कार्यक्रम र घरेलु तथा साना उद्योगको सहयोगमा केही उद्यमीहरू तयार भएका छन् । उनीहरूले क्याण्डी, जाम, जेली, अचार, छालाजुत्ता, अल्लाको कपडा, टीका, साबुन, ऊनी कपडा, नागा च्यादर, जुस, माहुरीपालन, ब्रिकेटलगायत व्यवसाय थालेका छन् ।
पर्वतमा खनिजतर्फ स्लेट ढुङ्गा, फलाम तथा तामा खानी उत्खनन गरेको ऐतिहासिक प्रमाण पाइन्छ । हाल स्लेट ढुङ्गा, बालुवा र गिटीमात्र उत्खनन तथा निकासी भइरहेको छ । तर, फलाम र तामाखानी भने हाल बन्द छन् । पछिल्लो समय जिल्लावासीको सक्रियतामा कुश्मा–ज्ञादी झोलुङ्गे पुल र कुश्मा–बलेवा यान्त्रिक पुल निर्माण भएको छ । यसले जिल्लाको विकास र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याएको छ ।
यो जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको छ । आगामी ५ वर्षभित्र जिल्लावासी सबैले सफा र स्वच्छ पानी खान पाउने गरी खानेपानी तथा सरसफाइ रणनीतिक योजना अघि सारिएको छ । अहिले जिल्लाका ५५ ओटै गाविसमा मोटरबाटो पुगेको छ । सबै गाविसमा विद्युतीकरण भएको छ भने सोहीअनुरूप सञ्चारको पहुँच पनि रहेको छ । जिल्लामा निर्माण भएका कच्ची सडकलाई ग्राभेल र कालोपत्र गरिने योजना रहेको छ । यहाँका धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्भावनाहरूको पहिचान गरी पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार तयार गर्न आवश्यक छ । पर्याप्त पूर्वाधार विकास गर्न सकिएको खण्डमा यस जिल्लालाई नेपालकै नमूना जिल्ला बनाउन सकिनेछ ।