काठमाडौं । नेपालमा विदेशी पर्यटकको औसत बसाइ र खर्चमा सन् २०२३ मा झीनो सुधार देखिएको छ । सन् २०२३ मा पर्यटकको औसत बसाइ अवधि ० दशमलव ८ प्रतिशतले बढेर १३ दशमलव २ दिन पुगेको तथ्यांक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ ।
उनीहरूको दैनिक खर्च पनि सामान्य बढेर ४१ डलर पुगेको मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक २०२३’ मा उल्लेख छ । प्रतिवेदनअनुसार बसाइ अवधि सन् २०२२ मा १३ दशमलव १ दिन थियो । त्यस वर्ष दैनिक औसत खर्च ४० दशमलव ५ डलर थियो ।
कोरोनाकालका २ वर्ष (सन् २०२० र २०२१) नेपालमा पर्यटकको बसाइ अवधि क्रमश: १५ दशमलव १ र १५ दशमलव ५ दिन थियो । यसको तुलनामा त्यसपछिका २ वर्षको बसाइ अवधि घटेको हो ।
कोरोनाकालको बन्दाबन्दी र क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यताले ती वर्षमा पर्यटकको बसाइ अवधि बढेको थियो । बसाइ अवधि बढ्दा पर्यटकले गर्ने औसत खर्च पनि बढेको देखिएको थियो । सन् २०२० मा पर्यटकको दैनिक खर्च ६५ अमेरिकी डलर थियो । सन् २०२१ मा यस्तो खर्च घटेर ४८ अमेरिकी डलरमा सीमित भएको थियो ।
होटेल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनायक शाहले अहिले सरकारले प्रकाशित गरेको पर्यटकको खर्चले वास्तविकताको प्रतिनिधित्व नगर्ने दाबी गरे ।
कम्तीमा पनि त्यसको दोब्बर खर्च गरेको हुनुपर्ने उनको दाबी छ । ‘अहिले पर्यटन क्षेत्रमा पर्यटकको योगदानको तथ्यांक गोलमोटोल रहेको उनको तर्क छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान ३ दशमलव २ प्रतिशत रहेको सरकारी तथ्यांक छ । विश्व बैंकको तथ्यांकले त्योभन्दा धेरै माथि रहेको जनाउँछ,’ उनले भने ।
सरकार, पर्यटन व्यवसायी र अन्य संस्थाको तथ्यांकमा एकरूपता नहुँदा पर्यटन क्षेत्रको वास्तविक योगदान थाहा हुन नसकेको शाह बताउँछन् । ‘यसका लागि सरकारले अघि बढाउने भनेको स्याटलाइट अकाउन्टिङ (पर्यटकले गर्ने कारोबारलाई अभिलेख गर्ने एकीकृत सूचना संकलन प्रणाली) छिटो लागू गरिनुपर्छ,’ उनले भने, ‘यो प्रणालीमा पर्यटकलाई एउटा चिट दिइएको हुन्छ, त्यही चिटबाट पर्यटकले गर्ने हरेक कारोबार अभिलेख हुन्छ, जसले गर्दा पर्यटकले गर्ने खर्चको वास्तविक अंक जानकारी हुन्छ ।’
नेपालमा पर्यटकको बसाइ अवधि लम्ब्याउन थप पर्यटकीय सेवा र गन्तव्य विस्तार गर्नुपर्ने पर्यटन व्यवसायी बताउँछन् । धेरै पर्यटक काठमाडौं, पोखरा र चितवनसम्म मात्र पुग्ने गरेको उनीहरूको भनाइ छ ।
सडकको नराम्रो अवस्था र उडानका लागि तयार भएका विमानस्थल सञ्चालन नहुँदा पनि पर्यटकका लागि नेपालभित्र यात्रा सहज हुन नसकेको र पर्यटकले बसाइ अवधि लम्ब्याउन नसकेको पर्यटन व्यवसायी बताउँछन् ।