चितवन। ‘भरतपुर भम्रण वर्ष २०२४’ को प्रवर्द्धनका लागि चितवनको देवघाटदेखि हलेसी हुँदै सोलुखुम्बुको फाप्लुसम्म मोटर र्याली हुने भएको छ । मोटर टुरिजम तथा मोटर स्पोर्ट्स प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल अटोमोबाइल एसोशिएसन (नासा) बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एसोशिएसन (काडा)ले संयुक्त रूपमा मोटर र्याली गर्ने भएका हुन् ।
करीब ३२७ किलोमिटरको ट्र्याकमा ‘सेल्फी टीडीएस’ र्याली प्रतियोगिता हुने काडा चितवनका अध्यक्ष राजन पियाले जानकारी दिए । प्रतियोगितामा २५ देखि ३० जना चालक सहभागी गराउने योजना रहेको पियाले बताए । यस्तै खोटाङको हर्कपुर, सुनकोशीको किनारमा अटो जिमखाना प्रतियोगिता सञ्चालन गर्ने तयारी रहेको उनले बताए । नेपालभरिका कुनै पनि स्थानका इच्छुक ड्राइभरले अनलाइनमार्फत नाम दर्ता गर्न सक्छन् । आगामी वैशाख ५ गते बिहान ८ बजेदेखि शुरू गरिने सो कार्यक्रमका विजेतालाई शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । दुई रात, तीन दिनको लाग्ने यस कार्यक्रममा सहभागीहरूलाई खाना तथा बस्ने व्यवस्था गरिएको बताइएको छ । साथै सहभागीको दुर्घटना बीमा समेत हुनेछ ।