काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार पुनर्गठनसँगै पूँजीबजारमा आएको सकारात्मक परिवर्तनलाई सरकारप्रति जनअनुमोदन र समर्थनका रुपमा बुझेको बताउनुभएको छ । स्मरण रहोस्, अघिल्लो सोमवार सरकारको पुनर्गठन हुने तय भएसँगै नेपालको शेयरबजारमा सकरात्मक सर्किट लाग्दै कारोवार नै बन्द भएको थियो । त्यसयता भने शेयरबजारले गति लिन भने सकेको छैन ।
प्रम दाहालले मंगलवार मात्रै मिटरब्याज पीडितहरूसँग चार बुँदे सहमति भएको उल्लेख गर्दै वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट रहेको समेत बताउनुभएको छ ।
रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुने तथा पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक संख्या कम्तिमा दोब्बर बनाउने लक्ष्य लिइने उहाँले उल्लेख गर्नुभयो । वैदेशिक रोजगारीमा जानेलाई बैंकको ऋणको व्यवस्था गरिने तथा स्वदेश फर्केकालाई पनि शीप अनुसारको व्यवसायका लागि सुलभ ऋणको ग्यारेन्टी गरिने बताउनुभएको छ ।
संघीयता कार्यान्वयन, राष्ट्रिय हितको रक्षा गर्ने स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन सरकारको प्रतिवद्धता र शान्ति प्रक्रियाको निरुपण सरकारको प्राथमिकता हुने बताउनुभयो । सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिकमैत्री हुने तथा राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिने बताउनुभयो ।