काठमाडौं । राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा आयोजित अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे), नेपालको टोली पराजित भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगितामा एनएफपीजे नेपालको टोली बंगलादेशको नारायणगंज क्लबसँग ५–३ ले पराजित भएको हो ।
खेलमा क्लबको तर्फबाट जाकिर होसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे भने एनएफपीजेको तर्फबाट सुमन लिम्बुले २ र दीवाकर सेनले १ गोल फर्काए ।
प्रतियोगिता एनएफपीजे नेपालले आयोजना गरेको हो । खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरूसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।
प्रतियोगिता शुरु हुनुअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका थिए ।
खेलपछि सहभागी खेलाडीलाई मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।