तनहुँ । राष्ट्रिय परिचयपत्रका लागि तनहुँमा ९ हजारभन्दा बढीले विवरण दर्ता गराएका छन् । ०७६ साउन ६ गतेदेखि सुरु भएको दर्ता अभियानअन्तर्गत हालसम्म ९ हजार १०८ ले विवरण दर्ता गराएका हुन् ।
गत असार महिनामा मात्रै १ हजार ६३ जनाले विवरण दर्ता गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए । राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि जिल्ला प्रशासन कार्यालय तनहुँमा स्टेसन स्थापना गरिएको छ । प्रशासन कार्यालयबाट नागरिकता बनाएलगत्तै सर्वसाधारणको विवरण दर्ताको व्यवस्था मिलाइएको छ ।
‘नागरिकता बनाउन आउने सबैलाई राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न सहजीकरण गरिएको छ’, सहायक प्रजिअ बरालले भने । परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिंग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ ।
यस्तै, फाराममा औंलाछाप (१० वटा), आँखाको नानी, तस्बिर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ । रासस