काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख ७ गतेदेखि १२ गतेसम्म निष्कासन गरेको ऋणपत्र वैशाख २१ गते बाँडफाँट गरेको छ । कम्पनीले कुल २५ लाख कित्ता ऋणपत्र विक्री गरेको हो । कम्पनीले ७ वर्षे अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर रहने गरी ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नाम ऋणपत्र निष्कासन गरेको हो । प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र कम्पनीले बाँडफाँट गरेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसस्थामा विक्री गरी बाँडफाँट गरिएको हो भने ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र भने आम सर्वसाधारणमा विक्री गरी बाँडफाँट गरिएको हो । सर्वसाधारणमा बाँडफाँट गरिएकोे ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । सर्वसाधारण लगानीकर्तामा ९ लाख ५० हजार कित्ता ऋणपत्र बाँडफाँट भएको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ऋणपत्रमा आर्जित तोकिए बमोजिमको ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गर्ने बताएको छ ।