काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य सर्वसाधारण लगानीकर्ताका लागि भारी हुने देखिएको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट सर्वसाधारणमा प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको दरमा शेयर निष्कासन (आईपीओ) गर्न लागेको बेला यसको वास्तविक प्रतिशेयर नेटवर्थ घटेको प्रतिवेदन सार्वजनिक भएकाले लगानीकर्तालाई मूल्य भारी पर्ने देखिएको हो ।
बुक बिल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताले प्रारम्भिक सार्वजनिक निष्कासनको निश्चित प्रतिशत शेयर निश्चित मूल्यमा किन्छन् । सोही मूल्यलाई आधार मानी सर्वसाधारणमा शेयर जारी गर्ने विधि बुक बिल्डिङ हो ।
कम्पनीले यसअघि नै योग्य संस्थागत लगानीकर्तालाई कुल साधारण शेयरको ४० प्रतिशत विक्री गरिसकेको छ । संस्थागत लगानीकर्ताले कम्पनीको शेयरका लागि प्रतिकित्ता ९१२ रुपैयाँ तिरेका थिए ।
नियमअनुसार संस्थागत लगानीकर्ताले तिरको भन्दा १० प्रतिशत कम मूल्यमा सर्वसाधारणलाई शेयर विक्री गर्न खोज्दा कम्पनीको प्रतिशेयर नेटवर्थ स्वाट्टै घटेको प्रतिवेदन कम्पनीले नै सार्वजनिक गरेको छ । नेपाल विद्युत् प्राधिकरणलाई उक्त उद्योगले उपयोग गरेको भनिएको ट्रंक तथा डेडिकेटेड लाइनको बिल भुक्तानी गर्नुपर्ने स्थिति रहेकाले त्यसको पनि हिसाब गर्दा प्रतिशेयर नेटवर्थ घट्न गएको हो ।
कम्पनीका अनुसार यसले ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँभन्दा बढी विद्युत् महशुल दायित्व वहन गर्नुपर्ने हुन सक्छ । योग्य संस्थागत लगानीकर्ताले यसको शेयर किन्दा यो दायित्व हिसाब गरिएको थिएन, जसले गर्दा उनीहरूले बढी मूल्य तिरे । कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रलाई आधार मान्दा गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको प्रतिशेयर नेटवर्थ २४२ रुपैयाँ ५ पैसा छ । विद्युत् महशुल दायित्व भुक्तानी गर्नुपर्दाको अवस्थामा कम्पनीको चैत मसान्तसम्मको लेखापरीक्षकबाट प्रमाणित प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ४५ पैसा हुने आह्वानपत्रमा उल्लेख छ ।
हालसम्मको व्यवस्थामा धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आईपीओको पहिलो कारोबार मूल्य कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म तोक्ने गर्छ ।
रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङबाट कायम भएको मूल्य नेप्सेले पहिलो कारोबारका लागि तोक्न सक्ने मूल्यभन्दा बढी हुने भएकाले शेयरको भाउ किनेको मूल्यभन्दा कम कायम भई सूचीकृत हुने देखिन्छ । यसले लगानीकर्तालाई चिन्तित तुल्याएको छ । लगानीकर्ताको एक समूहले यस विषयमा गुनासोसहितको निवेदन पेश गरिसकेका छन् ।
गत आवको अन्त्यसम्मको वास्तविक प्रतिशेयर नेटवर्थ २४२ रुपैयाँ ५ पैसाको आधारमा सूचीकृत हुँदा कायम हुने अधिकतम मूल्य ७२६ रुपैयाँ १५ पैसा हो । चैत मसान्तसम्मको वास्तविक प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ४५ पैसाको आधारमा पहिलोचोटि सूचीकृत हुँदा अधिकतम मूल्य ५३८ रुपैयाँ ३५ पैसा मूल्य कायम हुने देखिन्छ । पहिलोचोटि सूचीकृत हुँदा पछिल्लो आवको लेखापरीक्षणका आधारमा कायम प्रतिशेयर नेटवर्थको आधारमै मूल्य तोकेर सूचीकृत गरिने नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले बताए ।
यसरी प्रतिशेयर नेटवर्थ घट्दा पहिलोचोटि सूचीकृत हुँदा नै लगानीकर्तालाई घाटा पर्ने देखिएको हो । नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई अप्ठ्यारोमा पार्ने मनसायले यो कम्पनीलाई आईपीओ अनुमति दिएको बताए । बोर्ड अध्यक्ष नभएको अवस्थामा कुनै अध्ययनविनै गुपचुप तरिकाले रिलायन्सलाई आईपीओ अनुमति दिएकाले पनि शंका गर्ने ठाउँ रहेको रौनियारको भनाइ छ ।
दर्जनौं कम्पनी आईपीओको लाइनमा रहेको बेला विद्युत् महशुल बक्यौता रकम दायित्वका कारण वित्तीय अवस्था कमजोर बनेको कम्पनीलाई बोर्डले प्राथमिकतामा राखेर आईपीओ स्वीकृति दिएकोमा लगानीकर्ता सन्तुष्ट नभएको रौनियार बताउँछन् । आफ्नो खरीद मूल्यभन्दा कममा दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुला हुने भएपछि भोलिका दिनमा मूल्य बढाउन गलत तरीकाले यो कम्पनीको शेयर कारोबार हुने सम्भावना पनि रहने रौनियार बताउँछन् ।
संस्थागत लगानीकर्ताले किनेको मूल्यभन्दा धेरै कम मूल्यमा यो कम्पनीको शेयर सूचीकृत हुने हुँदा चलखेलको सम्भावना बढेको लगानीकर्ताको भनाइ छ । योग्य संस्थागत लगानीकर्तामा गत माघ १० गतेदेखि १४ गतेसम्म शेयर विक्री गरी माघ १४ गते कम्पनीको शेयरको कटअफ मूल्य निर्धारण भएको थियो । कम्पनीले योग्य संस्थागत लगानीकर्तामा ७ लाख ७० हजार ६४० कित्ता शेयर विक्री गर्दा कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ निर्धारण भएको थियो । योग्य संस्थागत लगानीकर्तामा विक्री गर्दा निर्धारण भएको कटअफ मूल्यबाट १० प्रतिशत घटाएर कम्पनीले सर्वसाधारणमा शेयर विक्री गर्न अनुमति पाएको हो ।
रिलायन्सले सर्वसाधारणमा ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँ बराबरको ११ लाख ५५ हजार ९६० कित्ता शेयर विक्री गर्न अनुमति पाएको छ । सूचीकृत कम्पनीहरूले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सर्वसाधारणमा निष्कासन गर्ने शेयरको १० प्रतिशत विक्री गर्नुपर्ने कानूनी व्यवस्था छ । यसअनुसार कम्पनीले पहिलो चरणमा १ लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विक्री गर्न लागेको छ । त्यसपछि अन्य सर्वसाधारणको लागि शेयर निष्कासन हुनेछ ।
असार २७ गतेदेखि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर विक्री गर्ने तयारी गरेको छ । योग्य वैदेशिक रोगजारीमा रहेका नेपाली नागरिकले साउन १० गतेसम्म यो शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् । कम्पनीले बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गरेकाले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिन्छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयका साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । शेयर निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले यसलाई केयर एनपी ए माइनस इस्युअर रेटिङ दिएको छ । यस रेटिङले समयमै वित्तीय दायित्व वहन गर्न पर्याप्त क्षमता रहेको कम्पनीको संकेत गर्छ ।
नेपालमा लागू भएको बुक बिल्डिङ विधिबाट दोस्रोपटक शेयर विक्री हुन लागेको हो । यसअघि सर्वोत्तम सिमेन्ट्सले यो विधिबाट शेयर बेचेको थियो ।
२०५२ भदौ १९ गतेदेखि सञ्चालनमा रहेको यो कम्पनीले धागो उत्पादन गर्छ । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशत भारत, टर्की, भियतनाम, बेलायतलगायत मुलुकमा निर्यात गर्छ । कम्पनीको अध्यक्षमा पवन गोल्यान छन् । कम्पनीमा संस्थापकतर्फ ८९ दशमलव ८६० प्रतिशत, योग्य संस्थागत लगानीकर्तामा ४ दशमलव शूून्य ५६ प्रतिशत र वैदेशिक रोजगारीमा रहेका नेपाली र अन्य सर्वसाधारणमा ६ दशमलव शून्य ८४ प्रतिशत शेयर स्वामित्व रहनेछ ।
सम्पूर्ण कित्ता शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९० करोड रुपैयाँ कायम हुनेछ । शेयर विक्रीबाट संकलित रकम कम्पनीले उद्योगको उत्पादन विविधीकरण एवं क्षमता वृद्धिमा उपयोग गर्ने जानकारी दिएको छ ।
वित्तीय विवरण शंकास्पद
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पनि शंका गर्ने ठाउँ देखिएको छ । कम्पनी गत आव २०७९/८० सम्मको वास्तविक वित्तीय विवरणअनुसार ९२ करोड ७८ लाख रुपैयाँभन्दा बढी नाफामा थियो । चालू आवको चैत मसान्तमा भने कम्पनीको नाफा २ करोड ६३ लाख रुपैयाँभन्दा केही बढीमा खुम्चिएको छ ।
चालू आवभित्र कम्पनीले ४ करोड ६२ लाख रुपैयाँभन्दा बढी नाफा गर्ने प्रक्षेपण गरेको छ । जुन प्रक्षेपण अस्वाभाविक हुने तर्क जानकारहरूले गरेका छन् । कम्पनीले चैत मसान्तसम्म कमाएको नाफाकै आधारमा अघि बढ्दा पनि चालू आवभित्र ३ करोड रुपैयाँभन्दा बढी मात्र नाफा हुने प्रक्षेपण जानकारहरूले गरेका हुन् ।
कम्पनीले यसअघि माघ २ गते जारी गरेको आह्वापत्र र असार १९ गते जारी गरेको आह्वानपत्रमा ३ आवको वास्तविक विवरण नै फरक छ । माघमा जारी भएको आह्वानपत्र अनुसार गत आव २०७९/८० सम्मको प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ६७ पैसा थियो । असार १९ गते प्रकाशितमा भने वास्तविक प्रतिशेयर नेटवर्थ २४२ रुपैयाँ ५ पैसा छ ।
सामान्य अवस्थामा वास्तविक वित्तीय विवरण परिवर्तन नहुने भए पनि एनएफआरएस प्रणाली लागू गर्दा इक्विटी एडजस्टमेन्ट गर्नुपरेको अवस्थामा मात्र वास्तविक वित्तीय अवस्था परिवर्तन हुने चार्टर्ड एकाउन्टेन्ट मुक्ति सुवेदीले बताए । रिलायन्सको वास्तविक अवस्था परिवर्तनको सम्बन्धमा आर्थिक अभियानले पटक–पटक सम्पर्क गर्न खोज्दा अध्यक्ष गोल्यान सम्पर्कमा आएनन् ।