काठमाडौं । सार्वजनिक ऋणको अंश बढ्दै जाँदा दायित्व व्यवस्थापनमा सरकारले ठूलो रकम खर्च गर्नु परेको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को ७ महीनामै सरकारले दायित्व व्यवस्थापन अर्थात् कुल ऋणको साँवाब्याज भुक्तानीमा १ खर्ब ५५ अर्ब २४ करोड रुपैयाँ खर्चेको छ । त्यसमध्ये १ खर्ब ३० अर्ब ११ करोड ६७ लाख रुपैयाँ आन्तरिक ऋणको साँवाब्याज हो । ९० अर्ब ९७ करोड १६ लाख आन्तरिक ऋणको साँवा र ३९ अर्ब १४ करोड ५१ लाख रुपैयाँ ब्याज भुक्तानी भएको छ । बाह्य ऋणतर्फ २५ अर्ब १३ करोड ५ लाख भुक्तानी भएको छ । यसमध्ये २० अर्ब १२ करोड साँवा र ५ अर्ब रुपैयाँ ब्याज भुक्तानीमा खर्च गरेको अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।
त्यसकारण सार्वजनिक ऋण धेरै बढ्यो कि भनेर चिन्ता भने गरिहाल्नुपर्ने स्थिति नदेखिएको सरकारको तर्क छ । बाह्य ऋणको चाप जीडीपीको २२ प्रतिशत हाराहारी छ । चालू वर्षमा सरकारले ठूलो परिमाणमा आन्तरिक ऋणको साँवाब्याज तिर्न खर्च गरिरहेको छ ।
सरकारले चालू आवभरिमा २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ बाह्य ऋण लिने लक्ष्य राखेको थियो । यसलाई अर्धवार्षिक समीक्षामार्फत १ खर्ब ८० अर्ब ६७ लाख रुपैयाँ मात्र प्राप्त हुने गरी अनुमान संशोधन गरेको छ । ७ महीनामा ५२ अर्ब १२ करोडमात्र बाह्य ऋण प्राप्त गरेको सरकार संशोधित लक्ष्य पनि भेट्ने आधार देखिँदैन । अर्थमन्त्री डा. प्रकाशशरण महतले भने ऋणको लक्ष्य प्राप्त हुने दाबी बजेटको अर्धवार्षिक समीक्षामार्फत गरेका छन् ।