वैशाख ११, ललितपुर । पछिल्लो पटक सञ्चालनमा आएको साझा यातायातले एक वर्षको अवधिमा टिकट बिक्रीबाट रू. चार करोडभन्दा बढी आम्दानी गरेको छ । पटकपटक विभिन्न समयमा बन्द रहँदै आएको साझा यातायात पछिल्लो पटक २०६४ जेठदेखि करीब छ वर्ष बन्द थियो । २०७० सालमा पुनः सञ्चालनमा आएको सो यातायातले एक वर्षको समय पार गरिसक्दा टिकट बिक्रीबाट रू. चार करोड ३४ लाख ३३ हजार ८ सय ७० आम्दानी गरेको साझाका प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार सरकारले निर्धारण गरेको भाडाअनुरुप टिकटको व्यवस्था गरी यात्रुबाट भाडा लिएको साझाले महिला र अपाङ्ग आरक्षणको कोटा सुनिश्चित गरी विद्यार्थीका लागि रू. १० को टिकटको व्यवस्था गरेको छ । एक वर्षको समयमा साझा यातायातमा २९ लाख ८२ हजार ८ सय २३ जना यात्रुले यात्रा गरिसकेका छन् । भाडाका लागि साझाले रुट र दूरीअनुरुप रू. १०, रू. १५, रू. १७ र रू. २० को टिकट निर्धारण गरेको छ ।
सफा बस र आरामसँग यात्रा गर्न सकिने भएकाले साझा यातायातको माग बढेको भए पनि आर्थिक स्रोतको खोजी भइरहेको र स्रोत जुट्नेवित्तिकै काठमाडौँ उपत्यका र उपत्यका बाहिरका लागि पनि बस थपिने साझाले जानकारी दिएको छ । हाल साझासँग १६ बस छन् । ती बस उपत्यकामा दुई ओटा रुट निर्धारण गरी सञ्चालनमा छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.