काठमाडौं । नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलका रूपमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आज (बिहीवार) ६२औं वार्षिकोत्सव मनाउँदै छ ।
नेपालमा सार्वजनिक संस्थानहरूले त्यति राम्रो उपलब्धि हासिल गर्न नसकिरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भने आफूलाई सफल संस्थानको रूपमा स्थापित गराउन सफल भएको छ ।
दशकौंदेखि सुपथ मूल्यमा खाद्य तथा दैनिक उपभोग्य वस्तु विक्री गरेर मुलुकको आपूर्ति प्रणालीमा उल्लेख्य सहयोग पुर्याइरहेको कर्पोरेशन सबल, सुदृढ र परिपक्व बन्दै गएको छ ।
साल्ट ट्रेडिङ सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा स्थापित नेपालको पहिलो संस्था हो । यसमा सरकारको वाणिज्य विभागको ११ दशमलव ५९ प्रतिशत शेयर छ भने तत्कालीन नेशनल ट्रेडिङ कर्पोरेशनको ९ प्रतिशत शेयर छ । संस्थानले सार्वजनिक संस्थानहरूकै इतिहासमा नून जस्तो महत्त्वपूर्ण वस्तुको आपूर्ति सहज बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको छ ।
आयोडिनयुक्त नून देशभर सहज बनाउन र हरेक वर्ष हुने अभाव एवं कालोबजारी रोक्न साल्ट ट्रेडिङको स्थापना भएको थियो । साल्ट ट्रेडिङ बन्नुअघि सरकारले विभिन्न क्षेत्र र मात्रा तोकेर विभिन्न व्यक्तिलाई नून आयातकोे अनुमति दिँदै आएको पाइन्छ । साल्ट ट्रेडिङको स्थापनापछि पनि निजीक्षेत्रलाई नून विक्री गर्न दिने प्रयास भएको थियो । त्यस्तो प्रयासस्वरूप नून उद्योग नै स्थापना भएर आपूर्ति शुरू भए पनि पछि सरकारले साल्ट ट्रेडिङभन्दा अन्यलाई आयात गर्न नदिने नीति लियो । उक्त नीतिविरुद्ध एउटा नून उद्योगले हालेको मुद्दा सर्वाेच्च अदालतले २०६१ सालमा खारेज गरिदिएको थियो ।
साल्ट ट्रेडिङ विभिन्न चुनौती, उतारचढाव, आरोह–अवरोह पार गर्दै अघि बढेको संस्था हो । संस्थाले अहिले आफ्नो उद्देश्यअनुसार गुणस्तरीय विक्रीवितरण, मूल्यमा एकरूपता र उपलब्धतामा सुनिश्चितता जस्ता मूल मन्त्र बनाएर सेवा दिइरहेको छ ।
कम्पनीले नेपालमै पहिलोपटक खाद्य उद्योग लिमिटेड नामक मैदा मिलमा लगानी गर्यो । त्यस्तै वनस्पति घिउ उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, मोरङ सुगर मिल, नेशनल फाइनान्स लिमिटेड लगायतमा पनि लगानी गर्यो । सगरमाथा इन्स्योरेन्स, मेट्रो ग्यास उद्योग, उपहार हाउजिङ, हिमालय प्याकेजिङ उद्योगसहित गहुँको बीउ उत्पादनदेखि सरकारी अनुदानको रासायनिक मल खरीदविक्री, सहुलियतमा चिनी, दाल, गेडागुडी लगायतको व्यापार क्षेत्रमा कम्पनीको लगानी छ । वनस्पति घिउ, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना लगायत केही उद्योग हाल बन्द छन् । यद्यपि संस्थाले मेट्रो ग्यास, उपहार हाउजिङ, हिमालय प्याकेजिङ, सहुलियत दरको चिनी, नून, रासायनिक मल र खाद्यान्न व्यापारले भने सफलता हात पारेको छ ।
हेटौंडास्थित खाद्य उद्योग लिमिटेडले २०३० सालदेखि मैदा उत्पादन थाल्यो । व्यापारमा विविधीकरण र अन्य अत्यावश्यक वस्तुको समेत व्यापार बढाउने सोचसहित कर्पोरेशनले नेपालमै उत्पादित कृषि वस्तुमा आधारित उद्योग पनि स्थापना गर्ने नीति अनुरूप यो कारखाना स्थापना गरेको हो । नेपाली भूमिमा उत्पादित गहुँको बजारीकरण, प्रशोधन गरी मैदा, आटा, सुजी र चोकर उत्पादन गरेर स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने यसका मुख्य उद्देश्य छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनले गुणस्तरीय वस्तुको कारोबार गरी आम उपभोक्तालाई गुणस्तरयुक्त खाद्य वस्तु, रासायनिक मल तथा अन्य वस्तुको सरल र सहज आपूर्ति व्यवस्था गरी सामाजिक उत्तरदायित्व वहन गर्दै समेत आएको छ । पछिल्ला वर्षयता कर्पोरेशनले गर्ने कारोबारको अवस्था समेत बढ्दै गएको छ । ठूलो मात्रामा वस्तु विक्री गरेर नाफामूलक संस्थाको रूपमा कम्पनीले आफूलाई स्थापित गराएको कम्पनीका विभागीय प्रबन्धक व्रजेशकुमार झा बताउँछन् । ‘आम उपभोक्ताको सेवामा निरन्तर साल्ट ट्रेडिङ कर्पोरेशन व्यापारमा सफल मात्र भएको छैन, सार्वजनिक संस्थानमध्ये नाफा आर्जन गर्न सक्ने संस्थाको रूपमा समेत स्थापित भएको छ,’ झाले भने ।
तत्कालीन राजा महेन्द्रको पूर्वाञ्चल भ्रमणका क्रममा त्यहाँका स्थानीयसँग प्रत्यक्ष संवाद गर्दा नून खान नपाएको जाहेरी भयो । नून खान नपाएको जाहेरी स्थानीयले सुनाएपछि राजा महेन्द्र त्यहाँबाट काठमाडौं फर्केर नूनको कम्पनी खडा गर्नेतिर लागे । तत्कालीन वाणिज्य विभागका निर्देशक गेहेन्द्रदेव पाठकको अध्यक्षतामा नूनको कारोबार गर्ने ठूल्ठूला ९ व्यापारीहरूलाई समेटेर एउटा समिति बनाई कम्पनी खोलियो, जसमा नूनको व्यापारमा संलग्न मुस्ताङदेखि कृष्णनगर, नेपालगञ्जका व्यापारी थिए । उनीहरूले नै नूनको आयातदेखि भण्डारण गर्ने काम गर्थे । तिनीहरू सबैलाई अनिवार्य शेयर धारक बनाएर २०२० भाद्र २७ मा यो संस्थाको स्थापना गरियो ।
नेपालको भौगोलिक विकटता, यातायात साधन अभाव र आफ्नै स्रोतको नून नभएको अवस्थामा नूनको कारोबार निकै जटिल थियो । सहजै उपलब्ध नहुने, गुणस्तरीय नरहने, मूल्यमा एकरूपता नहुने अवस्थामा कण्ठरोग नियन्त्रणका लागि आयोडिनयुक्त नून सर्वसाधारणलाई उपलब्ध गराउन अनिवार्य थियो । तर, आयोडिनयुक्त नून वितरण एकदमै जटिल थियो ।
२०३० सालमा नेपाल सरकारले नूनमा आयोडिन मिसाउने नीति लियो । त्यतिबेला नेपालमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै सरकारले उक्त नीति लिएको थियो । सन् १९६५ को सर्वेअनुसार ५५ प्रतिशत जनता आयोडिनको कमीले हुने रोगबाट कुनै न कुनै रूपमा प्रभावित थिए । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), नेपाल सरकारसहितको सहकार्यमा भएको सर्वेमा ४ प्रतिशत मानिस सुस्त मनस्थितिका देखिएका थिए ।
आयोडिनयुक्त नूनको कमीले हुने रोगहरूका कारण त्यतिबेला अवस्था भयावह थियो । सुस्त मनस्थितिको स्याहार गर्न थप ४ प्रतिशत चाहिन्थ्यो । यसरी ८ प्रतिशत नागरिक देशलाई श्रम दिन नसक्ने अवस्थामा पुग्नु निकै विडम्बना थियो । साथै जनस्वास्थ्यको क्षेत्रमा यो ठूलो चुनौती थियो । यसको समाधानका लागि साल्ट ट्रेडिङ भारतसँग सहकार्य गरेर अघि बढ्यो । २०३० सालपछि साल्ट ट्रेडिङबाट नूनमा आयोडिन मिसाएर विक्री वितरण थालिएपछि रोग निर्मूलन शुरू भयो । आयोडिनको कमी हुँदा निम्तिएका समस्या क्रमश: समाधान हुँदै गए । जस्तै, गर्भावस्थामा आयोडिनको कमी भयो भने बच्चा तुहिने, जन्मिए पनि लुलो लँगडो जन्मने, महिलामा बढी रक्तस्राव हुने, महीनावारी अनियमित हुनेजस्ता समस्या समाधान भए ।
कुनै पनि क्षेत्रमा आयोडिनको समस्या छ/छैन भनेर हेर्न डब्लूएचओले त्यस क्षेत्रमा विक्री हुने नूनको प्रडक्शन लेभलमा ५० प्रतिशत पीपीएम आयोडिन भएको हुनुपर्ने मापदण्ड तोकेको छ । त्यस्तै खाना खानेबेलामा कम्तीमा १५ पिपिएम आयोडिनको मात्रामा हुनुपर्ने मापदण्ड छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड नेपालले पूरा गर्न सफल भएअनुसार देशभर आयोडिनयुक्त नूनको पहुँच पुर्याउन कर्पोरेशन सफल भएको छ ।
विपद्मा पनि सहज सेवा
साल्ट ट्रेडिङ कर्पोरेशन यस्तो संस्था हो, जब जब विपद् आइलाग्छ उसको भूमिका झनै बढ्छ । कोभिड महामारीले देशमा भयावह अवस्था सृजना गर्दा साल्ट ट्रेडिङ डटेर सेवामा लाग्यो ।
ठाउँठाउँमा मोबाइल भ्यानमार्फत दैनिक उपभोग्य वस्तु पुर्याउन साल्ट ट्रेडिङका कर्मचारी खटिए । जनस्वाथ्यका मापदण्ड पालना गरेर कोभिड महामारीको बेला जनताको घरदैलोमा सेवा पुर्याउनु साधारण काम थिएन । तर पनि सेवासँगै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कम्पनी महामारीका बेलामा पनि जनजनको घरदैलोमा सेवा पुर्याउन लागिरह्यो ।
कोरोना महामारी मात्रै नभई सरकार र साल्ट ट्रेडिङको कुशल व्यवस्थापनकै कारण आयोडिनको कमीले हुने कुनै पनि समस्या अहिले मुलुकमा छैन । ठूलाठूला राजनीतिक व्यवस्था परिवर्तनका लागि भएका आन्दोलन, बाढीपहिरो, भूकम्प, नाकाबन्दी, कोभिड लगायतका विपद्को समयमा कर्पोरेशनले नून आपूर्ति कहिल्यै रोकेन । साथै मूल्यमा एकरूपता कायम गरिरह्यो । तेलको आपूर्ति गर्दै आएको आयल निगमले अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा नेपालमा पनि समायोजन गर्छ । कर्पोरेशनले भने जुनसुकै परिस्थितिमा पनि नूनको मूल्यमा कहिल्यै हेरफेर गरेन ।
साल्ट ट्रेडिङले सामाजिक उत्तरदायित्वका काम पनि गरेको छ । यसमध्ये कम्पनीको रजत जयन्ती अवसरमा २०४५ सालमा हितकारी गुठीअन्तर्गत बालहितकारी पुरस्कार स्थापना गर्यो । नेपाली बालबालिकाको शैक्षिक, मनोवैज्ञानिक, बौद्धिक, शारीरिक र भौतिक अभिवृद्धि एवं नैतिक तथा चारित्रिक विकासमा उत्कृष्ट योगदान दिने व्यक्ति वा संस्थालाई हरेक वर्ष कर्पोरेशनको वार्षिकोत्सवको अवसरमा यो पुरस्कार प्रदान गर्दै आएको छ । कर्पोरेशनमार्फत हालसम्म यो पुरस्कार २४ भन्दा बढी व्यक्ति तथा संस्थाले प्राप्त गरिसकेका छन् ।
कोभिड महामारीमा साल्ट ट्रेडिङ कर्पोरेशनको भूमिका बढी प्रभावकारी रहेको थियो । २ वर्ष मुलुक कोरोना भाइरस महामारीका कारण अस्तव्यस्त हुँदा कर्पोरेशनले जनस्वास्थ्यका मापदण्ड पूरा गरेर निरन्तर प्रभावकारी सेवा दियो । यसले सहज रूपमा उपभोक्ताको घरघरमा खाद्य तथा उपभोग्य सामग्री पुर्याउँदा आम उपभोक्ताको मन जित्न सफल भयो ।
बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा कर्पोरेशनले काठमाडौं उपत्यकामा ६ ओटा विक्री कक्ष र चारओटा मोबाइल भ्यानमार्फत खाद्य तथा उपभोग्य वस्तुको विक्री गरेको थियो । उपत्यकाका सतुंगल, कालीमाटी, कोटेश्वर, भक्तपुर र कलंकीमा विक्री कक्ष राखेर यसले सेवा प्रदान गर्दै आयो । चारओटा मोबाइल भ्यानबाट काठमाडौं उपत्यकाभर उपभोक्ताको घर घरमै सेवा प्रवाह गयो । उपत्यका बाहिरका शहरमा पनि कम्पनीले आवश्यक सेवा प्रदान गर्दा ग्राहक एवं सरोकारवालाबाट यसको विशेष प्रशंसा भएको थियो ।
कृषकले सहज रूपमा युरिया मल पाउन नसकेका बेला उक्त जिम्मेवारी पूरा गर्न कर्पोरेशन पछि परेन । जिम्मेवारी पाएका अन्य निकायले मल आयात गर्न नसकेको अवस्थामा कर्पोरेशनले मल आपूर्तिलाई तत्कालीन समयमा प्राथमिकतामा राखेको देखिन्छ । महामारीकै समयमा हजारौं मेट्रिक टन रासायनिक मल आयात गरेको कम्पनीले तत्कालीन समयमा आफ्नो जिम्मेवारीलाई महत्त्वका साथ अघि बढाएको थियो । पछिल्ला वर्षयता नेपालले सामना गरेको विषम परिस्थितिमा समेत कम्पनीले आपूर्ति व्यवस्था चुस्त राख्दै सहज रूपमा दैनिक आवश्यक सामग्री उपलब्ध गराएको छ ।
थुप्रै पुरस्कार तथा सम्मान
साल्ट ट्रेडिङ कर्पोरेशनको आर्थिक सहयोगमा दर्जनौं क्षेत्रमा ठूलो राशीको सम्मान तथा पुरस्कार कोषहरू स्थापना गरिएका छन् । यसबाट सामाजिक क्षेत्रमा योगदान पुर्याएकाहरू सम्मानित हुने र उनीहरूलाई प्रोत्साहन मिल्ने काम भइरहेको छ । त्यसमध्ये ठूलो राशीको पुरस्कारको नाम हो– हेमबहादुर मल्ल सम्मान पुरस्कार हो ।
नेपाल जनप्रशासन संघले सञ्चालन गर्ने गरी राष्ट्रिय स्वार्थलाई सर्वोपरी राखी उद्योग, वाणिज्य, प्रशासन, व्यवस्थापन, समाजसेवा, जनसरोकार, जनस्वास्थ्य, सार्वजनिक वितरण प्रणाली, आम उपभोक्तालाई सरोकार भएको क्षेत्रलाई मुलुकको उन्नति, आमजनताको भलो चिताई राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्याउने ख्यातिप्राप्त व्यक्ति, संघ–संस्थालाई हरेक वर्ष २ लाख रुपैयाँको पुरस्कार र कदरपत्रले सम्मान गरिँदै आएको छ । यसबाट केदारभक्त माथेमा, दमननाथ ढुंगाना, कुलमान घिसिङ, डा. सन्दुक रुइतजस्ता प्रख्यात व्यक्तित्वहरू सम्मानित भइसकेका छन् ।
त्यस्तै साल्ट ट्रेड्रिङ कर्पोरेशनमा कार्यरत अधिकृत र अधिकृतभन्दा तल्लो तहमा रही उल्लेखनिय सेवा गर्ने १/१ जना कर्मचारी हरेक वर्ष ‘हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार’ दिने गरेको छ । कर्पोरेशनमा कार्यरत कर्मचारीका सन्तानमध्ये प्रवेशिका परीक्षामा उच्चतम अंक ल्याई प्रथम श्रेणीमा उत्तीर्ण हुने छात्रालाई संस्थानका पूर्वअध्यक्ष स्व. लोकनाथ जोशीको सम्झनामा स्थापित ‘साल्ट ट्रेडिङ लोकनाथ जोशी छात्रवृत्ति’ दिने गरिएको छ ।
कर्पोरेशनमा कार्यरत कर्मचारीका सन्तानमध्ये प्रवेशिका परीक्षामा उच्चतम अंक ल्याई प्रथम श्रेणीमा उत्तीर्ण छात्रलाई कर्पोरेशनका पूर्वअध्यक्ष स्व. अनंगमान शेरचनको सम्झनामा स्थापित साल्ट ट्रेडिङ अनंगमान शेरचन छात्रवृत्ति दिने गरिएको छ ।
ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार साल्ट ट्रेडिङमा कार्यरत अधिकृत, गैरअधिकृत र श्रेणीविहीन तहका १–१ जना गरी तीन जना कर्मचारीले वर्षेनि पाउने गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन समूहअन्तर्गतको खाद्य उद्योग लिमिटेडले आफ्नो रजत जयन्तीदेखि खाद्य तथा प्रविधि अध्ययन संस्थान, धरानमा अध्ययन गर्ने खाद्य प्रविधिमा स्नातक तहका छात्रछात्रालाई खाद्य प्रविधि छात्रवृत्तिले सम्मान गर्दै आएको छ ।
सामाजिक उत्तरदायित्व पूरा गर्ने सन्दर्भमा कर्पोरेशनले नेपालको ऐतिहासिक केन्द्रीय सचिवालय भवन सिंहदरबारमा आगलागी भई क्षति हुँदा पुनर्निर्माणका लागि २०३० असारमा १ लाख रुपैयाँ सहयोग गरेको थियो । नेपाल आँखा अस्पताल स्थापनाको लागि २०३२ असारमा १ लाख रुपैयाँ सहयोग गरेको थियो । साल्ट ट्रेडिङ कर्पोरेशनले संस्थाको केन्द्रीय कार्यालय परिसरमा संस्था स्थापना गराउने संस्थापक अध्यक्ष तत्कालीन वाणिज्य विभागका महानिर्देशक गहेन्द्रदेव पाठकको स्मृतिमा वाटिका समेत निर्माण गरेको छ ।