घाटामा नगएको संस्थान हो साल्ट ट्रेडिङ
दामोदर भण्डारी
मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
साल्ट टेड्रिङ कर्पोरेशनमा सरकार र निजीक्षेत्रको शेयर छ । सरकारको शेयर कम भए पनि घाटामा नगएको संस्थान हो– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड । उसले आफ्नो व्यावसायिक गतिविधिलाई राम्रो बनाउँदै गएको छ । ग्यास आपूर्तिदेखि रासायनिक मल आयातसम्म गर्दै आएको संस्थाले नुन, चिनीजस्ता अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउँदै सहुलियत दरमा विक्रीवितरण गर्दै आएको छ । नागरिकलाई सहुलियत दिने साल्ट टे्रडिङजस्ता सार्वजिक संस्थानको महत्त्व दिन प्रतिदिन बढ्दै गएको छ । त्यसैले पनि सरकारले त्यस्ता संस्थानलाई उनीहरूको बिजनेशमा सहयोग गर्छ, गर्दै आएको पनि छ । उनीहरूको बिजनेशलाई गुणस्तरीय, प्रभावकारी, मूल्य समायोजनजस्ता विषयमा सहुलियत, सुविधा दिने समेत गरेको छ । सरकारले त्यस्ता संस्थानहरूलाई साझेदार बनाउनुको मुख्य कारण भनेको नागरिकलाई सुविधा दिनु नै हो । अब साल्ट ट्रेडिङले समयअनुसार आफ्नो बिजनेश अघि बढाउनु जरुरी छ ।
साल्ट ट्रेडिङको काम विगतदेखि नै प्रभावकारी
लेखराज भट्ट
पूर्वमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
साल्ट ट्रेडिङले विगतदेखि नै प्रभावकारी रुपमा काम गरिरहेको छ । अनुदानमा नुन दुर्गमसम्म पुर्याउनेदेखि खाद्य सामग्री विक्री गर्नेसम्मको उसको काम सराहनीय छ । बजारमा महँगी, कालोबजारी हुँदा, महामारी तथा संकटका बेला राज्यले साल्ट ट्रेडिङलाई प्रयोग गर्दै आएको छ । यो निकायलाई सरकारले हस्तक्षेपकारी निकायको रूपमा प्रयोग गर्दै आउनु राम्रो पक्ष हो । यसले बजारमा हुने विकृति रोक्न ठूलो मद्दत गरेको छ । साल्ट ट्रेडिङको आन्तरिक तथा बाह्य व्यापारिक सम्बन्धको सञ्जाल पनि ठूलो छ, त्यसकारण उसले आवश्यक सामग्रीको जोहो गर्दै छिटो, छरितो ढुवानी र आयातित वस्तुको व्यवस्थापनमा सफलता पाएको छ । साल्ट ट्रेडिङलाई अझ बलियो संस्थाको रूपमा अघि बढाउन हिजोका दिनमा भए/गरेका कामको समीक्षा गरी थप योजना तय गर्नुपर्छ ।
राम्रो गर्नेमध्येको एक हो साल्ट ट्रेडिङ
आनन्दप्रसाद ढुंगाना
पूर्वमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
हामीसँग धेरै संस्थान भए । तर राम्रोसँग काम गर्न सक्ने कम छन् । राम्रो गर्नेमध्येको एक हो– साल्ट ट्रेडिङ कर्पोरेशन । म मन्त्री हुँदा चिनीको हाहाकार भएका बेला साल्ट ट्रेडिङले सस्तो र सर्वसुलभ रूपमा आपूर्ति गरेर ठूलो सहयोग पुर्याएको थियो । मेरै कार्यकालमा जापान सरकारले सहयोग गरेको ८ करोड रुपैयाँको गोदामको व्यवस्था गरिदियौं । त्यतिबेला अरू संस्थानलाई छाडेर साल्ट ट्रेडिङलाई नै दिनुको कारण उसले व्यवस्थित रूपमा गोदामको उपयोग गर्न सक्छ भनेर नै हो । यो संस्थानलाई दीर्घकालसम्म सञ्चालन गर्न राज्यको सहयोग चाहिन्छ । आयोडिनयुक्त नुनबाट कारोबार शुरू गरेको संस्थानले नेपालमा खासगरी गलगाँड जस्तो ठूलो रोग उन्मूलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसलाई हामीले बिर्सनु हुँदैन । अहिले पनि संस्थानलाई गोदामको समस्या छ । यसको व्यवस्थापनमा राज्य नै लाग्नुपर्ने देखिन्छ । सरकारले नुन ढुवानीका लागि अनुदान दिने गरेको छ । दुर्गमका लागि दिने गरिएको ढुवानी अनुदानलाई निरन्तरता दिइनुपर्छ ।
बजारमा हुने मोनोपोली रोक्न सघाएको छ
प्रतापकुमार पाठक
पूर्वसचिव
अहिले हामीले अवलम्बन गरेको मिश्रित अर्थव्यवस्थामा सरकारको हस्तक्षेप हुन्छ । सबै क्षेत्र निजीक्षेत्रलाई छाड्दा उनीहरूको एकाधिकार हुने खतरा हुन्छ । सरकारले साल्ट टे्रडिङ, खाद्य कम्पनी चलाउँदा यिनीहरूले बजारमा हुने एकाधिकार रोक्न सघाउ पुर्याइरहेका छन् । उपभोक्ताको हक हित संरक्षणमा समेत सरकारी संस्थानले महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । सार्वजनिक उत्तरदायित्वको विषयलाई हेर्ने हो भने पनि यस्ता संस्थान रहँदा नै राम्रो हुन्छ । सरकारले बनाएका नीति कार्यान्वयनको सन्दर्भमा पनि यस्ता संरचना अति आवश्यक छ । पूर्ण उदारीकरणमा हाम्रा संरचनाहरू छैनन्, हाम्रो अहिलेको संरचना भनेको ग्रामीण बजार हो । अर्को शहरी बजार संरचना हो । युरोपेली मुलुकमा सहकारीमार्फत उनीहरूले काम गरिरहेका छन । यहाँ सहकारीको भूमिका त्यति राम्रो देखिँदैन । त्यसकारण पनि सरकारी स्वामित्वका साल्ट टेड्रिङजस्ता संस्थानको भूमिका अति महत्त्वपूर्ण देखियो ।
संकटका बेला संस्थाले पुर्याएको योगदान महत्त्वपूर्ण छ
दीपक सुवेदी
पूर्वसचिव
साल्ट ट्रेडिङ परिपक्व अवस्थामा पुग्नुको पछाडि तीनओटा पक्ष एकदमै मजबुत छन् । बोर्ड एकदम पेशागत छ, जहाँ विज्ञ व्यक्तिहरू छन् । अर्को व्यवस्थापन हो । सीईओ उर्मिला श्रेष्ठ व्यवस्थापनको शीर्ष पदमा भए पनि सामान्य कामका लागि समेत आफै खट्नुहुन्छ, जुन निकै सकारात्मक पक्ष हो ।
संस्थाको बलियो अर्को पक्ष त्यहाँका कर्मचारी हुन् । मैले धेरै संस्थाहरू हेर्ने मौका पाएकोमा अन्य संस्थामा ट्रेड युनियनले विभिन्न आन्दोलन गरेर संस्थालाई अघि बढ्न दिइरहेका हुँदैनन् । तर साल्ट ट्रेडिङका कर्मचारी पनि दिलोज्यान दिएर संस्थालाई अघि बढाउन लागिपरेका छन् । साल्ट ट्रेडिङले प्रत्येक घरमा आयोडिनयुक्त नुन पुर्याएको छ । व्यवसायलाई सेवाको रूपमा अँगालेर आयोडिनयुक्त नुन आम उपभोक्ताको पहुँचमा पुर्याएकाले पनि संस्था यो उचाइमा पुगेको हो । मुलुकभर यसको आपूर्ति व्यवस्था अति चुस्त छ । संस्थाले करीब एक वर्षलाई पुग्ने आयोडिन नुन मौज्दात राखेको हुन्छ । साथै गुणस्तरीय खाद्यवस्तु विक्री, सुपथ मूल्य पसल सञ्चालन लगायत कारणले पनि संस्था लोकप्रिय छ । विगतमा अभावका बेला समेत व्यवस्थित रूपमा ग्यास आपूर्ति गरेर संस्थाले ठूलो संकट टारेको छ । यस्तै मैदा पनि आफै उत्पादन गरेर बजारमा पुर्याइरहेको छ । चिनी र मल सर्वसुलभ रूपमा बेच्ने गरेको छ । यो संस्थाले गरिरहेको महत्त्वपूर्ण योगदान हो । उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न सक्ने भएकाले साल्ट ट्रेडिङ यो स्थानमा छ । यी सबै हिसाबले शेयर बजारमा आज साल्ट ट्रेडिङको जुन हैसियत छ, त्यसबाट पनि संस्थाको उचाइ थाहा हुन्छ ।