काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ८ गते लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि आठौं वार्षिक साधारण सभा बोलाएको छ ।
फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । प्रस्तावित कुल ९ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १ दशमलव २५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत करसमेत नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार रुपैयाँ छ । ६ करोड १९ लाख १३ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको कम्पनीको बोनसपछि चुक्तापूँजी ५ अर्ब १ करोड ४९ लाख ७८ हजार रुपैयाँ कायम हुनेछ ।
बोनसपछि नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन यो कम्पनी सफल हुनेछ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १८ दशमलव ३८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यस वर्ष भने कम्पनीले नगद लाभांशमा जोड दिएको छ ।
उल्लेखित प्रस्तावसँगै बोनस शेयर वितरणपछि पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र संशोधन गर्ने, रजिष्टर्ड कार्यालय नयाँ बानेश्वर, काठमाडौंबाट परिवर्तन गरी नक्साल, काठमाडौं कायम गर्ने र सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च भएका रकम अनुमोदन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएका छन् ।
आगामी दिनमा नियामक निकायहरूबाट कुनै विषय संशोधन गर्न आवश्यक परेमा त्यसको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि फागुन २६ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।