बैंक अफ अमेरिकाका अनुसार यस वर्षको शुरूदेखि नै रुबल सबैभन्दा राम्रो प्रदर्शन गर्ने मुद्रा रहँदै आएको छ । लामो समयसम्मको युद्ध, तेलको मूल्य घट्दो, कडा पश्चिमी प्रतिबन्धहरू र घट्दो अर्थतन्त्रबीच पनि रूसी रुबलको मूल्यमा वृद्धि देखिएको छ । बैंक अफ अमेरिकाका अनुसार रुबलले २०२५ मा ४० प्रतिशतभन्दा बढी मूल्य वृद्धि गर्दै हालसम्मकै उत्कृष्ट प्रदर्शन गरेको मुद्रा बनेको छ । पछिल्ला २ वर्षमा व्यापक अवमूल्यन भएको रुबलका लागि यो उल्लेखनीय मोड हो ।
- २०२५ मा रूसी रुबल चमत्कारपूर्ण तरीकाले उकालो लागेको छ र यो अहिलेसम्मको वर्षको विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ ।
बजार विश्लेषकहरूका अनुसार यो मूल्यवृद्धि विदेशी लगानीकर्ताको अचानक भरोसा होइन, पूँजी नियन्त्रण र कडा मौद्रिक नीतिको परिणाम हो । अमेरिकी डलरको कमजोरीले पनि रुबललाई थप फाइदा पुर्याएको छ । वेल्स फार्गोका अन्तरराष्ट्रिय अर्थशास्त्री र मुद्रा रणनीतिकार ब्रेन्डन म्याकेनाले तीन प्रमुख कारण उल्लेख गरेका छन्ः क) केन्द्रीय बैंकले ब्याजदर उच्च राखेको छ, ख) पूँजी र मुद्रा नियन्त्रण अझ कडा बनाइएको छ र ग) रूस–युक्रेनबीच शान्तिका केही संकेतहरू देखापरेका छन् ।
रूसी केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न २० प्रतिशत जति ब्याजदर कायम राख्दै आन्तरिक ऋण र क्रेडिट नीतिमा कडाइ गरेको छ । उच्च ब्याजदरले स्थानीय व्यवसायहरूलाई आयातबाट रोकिरहेको छ, जसले विदेशी मुद्राको माग घटाएको छ ।
रेनेसाँ क्यापिटलका अर्थशास्त्री आन्द्रेइ मेलाशेन्कोका अनुसार कमजोर उपभोगले गर्दा आयातकर्ताले विदेशी मुद्रा किन्ने माग घटाएका छन् ।
गतवर्षको दोस्रो अवधिमा धेरै इलेक्ट्रोनिक्स, कार र ट्रकहरू आयात गरिएको थियो, जसको परिणामस्वरूप २०२५ को पहिलो त्रैमासमा ‘ओभरस्टकिङ’ देखिएको छ । यी वस्तु मुख्य रूपमा दिगो उपभोग्य वस्तु हुन् जसले रूसको आयातको ठूलो अंश ओगट्छ ।
रूसी निर्यातकर्ताले विदेशी आम्दानी रुबलमा रूपान्तरण गर्नुपर्ने सरकारी निर्देश पालना गरिरहेका छन् । खासगरी तेल निर्यात गर्नेहरूले ठूलो परिमाणमा डलरलाई रुबलमा बदलिरहेका छन् । जनवरीदेखि अप्रिलसम्म रूसका प्रमुख निर्यातकर्ताहरूले ४२.५ अर्ब डलर बराबरको विदेशी मुद्रा विक्री गरेका छन्, जुन अघिल्लो ४ महीनाको तुलनामा ६ प्रतिशत बढी हो ।
जोन हप्किन्स विश्वविद्यालयका प्राध्यापक स्टीव ह्यांकीका अनुसार रूसको केन्द्रीय बैंकले मुद्रा आपूर्ति घटाइरहेको छ, जसले पनि रुबललाई सघाएको छ । २०२३ अगस्टमा मुद्रा आपूर्तिको वार्षिक वृद्धि दर २३ दशमलव ९ प्रतिशत थियो जुन २०२५ जनवरीबाट घट्दै अहिले –१ दशमलव १९ प्रतिशतमा झरेको छ ।
डोनाल्ड ट्रम्पको पुनः अमेरिकी राष्ट्रपति चयनपछि रूस–युक्रेनबीच शान्तिको आशा जगाएको छ । यसले केही हदसम्म पूँजी प्रवाहलाई रुबल–आधारित सम्पत्तितर्फ फर्काएको छ, जुन पूँजी नियन्त्रण हुँदाहुँदै पनि रुबलको सशक्तीकरणमा सहयोगी भएको छ ।
विश्लेषकहरू सावधानी अपनाउन आग्रह गर्छन्, किनभने रुबलको यो वृद्धिलाई दीर्घकालीन मान्न सकिँदैन । रूसको निर्यात अर्थतन्त्रको आधार तेल हो । २०२५ मा यसको मूल्य निकै घटेको छ, जसले रूसी मुद्रा बजारमा विदेशी मुद्रा प्रवाहलाई घटाउनेछ । मेलाशेन्को भन्छन्, ‘हामी विश्वास गर्छौं कि रुबल अहिले आफ्नो उच्चतम विन्दु नजिक छ र छिट्टै कमजोर हुन सक्छ ।’
शान्ति सम्झौता भएमा रुबलको मूल्यमा छिटो गिरावट आउन सक्छ किनभने वर्तमान पूँजी नियन्त्रणहरू हटाइने सम्भावना हुन्छ । ‘यदि युद्धविराम या शान्ति सम्झौता हुन्छ भने पूँजी नियन्त्रण पूर्णरूपमा हटाइन सक्छ र केन्द्रीय बैंकले ब्याजदरमा छिटो कटौती गर्न सक्छ,’ म्याकेना भन्छन् । तेल निकासी गर्ने कम्पनीहरूको नाफा घट्दै गएको छ किनभने रुबल बलियो छ तर कच्चा तेलको मूल्य कमजोर हुँदै गएको छ । तेल मूल्यमा गिरावट र रुबलको बलियोपनले तेल–ग्यासबाट आउने राजस्वमा कमी आएको छ ।
‘२०२४ मा रूसको संघीय बजेटको करीब ३० प्रतिशत तेल र ग्यासबाट आउने अनुमान गरिएको थियो,’ फिनल्यान्डको केन्द्रीय बैंकका वरिष्ठ अर्थशास्त्री हेली सिमोला बताउँछिन् ।
‘वित्त मन्त्रालयले खर्च धान्न राष्ट्रिय कल्याणकारी कोषमा बढी निर्भर हुनुपरेको छ,’ मेलाशेन्को भन्छन् । ‘यदि यो प्रवृत्ति जारी रह्यो भने प्राथमिकताबाहेकका खर्चहरूमा कटौती हुन सक्छ ।’ तेल कारोबारबाहेक रूस अहिले पनि वैश्विक बजारबाट एकप्रकारले एक्लिएको छ । म्याकेना भन्छन्, ‘यसको अर्थ रुबल कमजोर हुँदा पनि रूसको व्यापार प्रतिस्पर्धामा खासै प्रभाव पर्दैन ।’
(सीएनबीसीबाट)