काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत असोज २३ गते सम्पन्न साधारणसभाले पारित गरेको बोनस शेयर बापतको कर तिर्न घरधनीहरूलाई आग्रह गरेको छ ।
सभाले चुक्ता पूँजीको आधारमा १८ दशमलव ३८११ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । यसका लागि कम्पनीले बोनस शेयरको ५ प्रतिशत कर बापतको रकम तिर्न आग्रह गरेको हो । कर तिरेको भौचर पाएपछि मात्रै शेयरधनी डिम्याटले खातामा बोनस शेयर पठाउने कम्पनीले जनाएको छ ।
साबिक सानिमा लाइफ र रिलायन्स लाइफ आपसमा गाभिएर सानिमा रिलायन्स लाइफको नामबाट २०७९ चैत ९ गतेदेखि एकीकृत कारोबार शुरू भएको थियो ।
आयकर ऐनमा भएको व्यवस्थाबमोजिम गाभिएको मितिमा कायम घरधनीहरूलाई गाभिएको मितिबाट २ वर्षसम्म वितरण गरेको लाभांशमा कर लाग्दैन । तर, एकीकृत कारोबार मितिपश्चात दोस्रो बजारबाट भएको शेयर कारोबारबाट प्राप्त शेयरको बोनस शेयरमा लाभांश कर लाग्ने भएको व्यवस्था रहेको कम्पनीले जनाएको छ । तिनै शेयरधनीहरूले मात्रै बोनस शेयरको करबापत्को रकम जम्मा गर्न कम्पनीले आग्रह गरेको छ ।
यस विषयमा थप जानकारी कम्पनीको शेयर रजिस्ट्रार सानिमा क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालय र वेबसाइटमा तथा सानिमा रिलायन्स लाइफको वेबसाइटमा गएर हेर्न सकिन्छ ।
त्यस्तै आफ्नो शेयर धितो बन्धक राखी कर्जा सुविधा उपभोग गरेका शेयरधनीहरूको बोनस शेयरको करबापत्को रकम जम्मा गर्नुपर्ने भए सोसमेत जम्मा गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर वा फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।