काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन प्रक्रियालाई समयसापेक्ष बनाउन विद्यमान नियमावली तथा निर्देशिका परिमार्जन गर्ने सुझाव पेश गर्न एक अध्ययन समिति बनाएको छ । बोर्डको नियमन विभाग प्रमुख कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।
‘धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको र बुक बिल्डिङ निर्देशिका, २०७७ मा भएका व्यवस्थाहरूमा समेत केही परिमार्जन गर्ने गरी अध्ययन समितिले काम गर्नेछ,’ उनले भने । केही वर्षयता प्रिमियम र बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गरेका कम्पनीहरूबारे विवाद देखिएको छ । पछिल्लो समय रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट गर्न लागेको शेयर निष्कासनमा पनि विवाद भएको थियो ।
‘अध्ययन समितिले विभिन्न अन्तरराष्ट्रिय अभ्याशहरूको अध्ययन र विभिन्न निकायबाट प्राप्त सल्लाह/सुझावका आधारमा प्रतिवेदन तयार गर्नेछ,’ घिमिरेले भने । उनका अनुसार बोर्डले प्रतिवेदन पेश गर्ने समयसीमा तोकेको छैन । आफूसमेत उक्त समितिमा सहभागी रहेको जानकारी दिँदै उनले जतिसक्दो चाँडो काम सक्ने प्रतिबद्धता व्यक्त गरे ।
बोर्डले सार्वजनिक निष्कासन अंकित मूल्य, प्रिमियम मूल्य र बुक बिल्डिङ विधिमार्फत गर्न स्वीकृति प्रदान गर्दै आएको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली र बुक बिल्डिङ निर्देशिकामा भएको व्यवस्थालाई आधार मानेर सार्वजनिक निष्कासनका लागि स्वीकृति प्रदान गर्दै आएको हो । पछिल्लो समय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सार्वजनिक निष्कासनमा चासो व्यक्त गर्दै ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई सार्वजनिक निष्कासन स्वीकृति नदिन निर्देशन गरेको छ ।
प्रिमियम मूल्य र बुक बिल्डिङ विधिमार्फत शेयर जारी गर्दा मूल्य निर्धारण अस्वाभाविक भएको गुनासो लगानीकर्ताबाट आएपछि सार्वजनिक लेखा समितिले स्वीकृतिमा कडाइ गर्न निर्देशन दिएको हो । बोर्डले पछिल्लो समय प्रिमियम मूल्यका र बुक बिल्डिङ विधिका शेयर निष्कासन गर्न स्वीकृति दिएको छैन । सार्वजनिक निष्कासनलाई समयानुकूल बनाउन अध्ययन समितिले काम गरिरहे पनि स्वीकृति प्रक्रिया भने नरोकिने घिमिरेले बताए ।