काठमाडौं । लगातार वर्षा भएर विभिन्न ठाउँमा बाटो अवरुद्ध भएपछि १ सातामै हरियो तरकारीको भाउ ह्वात्तै बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार १ हप्तामै तरकारीको भाउ २१६ प्रतिशतसम्म बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले लगातार वर्षाका कारण ढुवानीमा समस्या हुँदा मौसमी तथा हरियो तरकारीको मूल्य बढेको बताए । उनका अनुसार देशका अधिकांश ठाउँमा गएको बाढी तथा पहिरोका कारण तरकारी ढुवानीमा समस्या छ । काठमाडौं उपत्यकानजिकका जिल्लाबाट तरकारी आए पनि भारत र तराईका जिल्लाबाट तरकारी ल्याउन समस्या भएको छ । ‘मंगलवारदेखि पानी पर्ने क्रम केही कम भएको छ । अब बाटोघाटो सुधार भएपछि विस्तारै तरकारी आयात बढ्न सक्छ,’ उनले भने ।
यसअघि असार १७ गते प्रतिकिलो १४ रुपैयाँ २० औसत मूल्यमा किनबेच भएको सानो लोकल गोलभेडाको मूल्य असार २५ मा २१६ प्रतिशतले बढेर ४५ रुपैयाँ किलो पुगेको छ । टनेलको गोलभेडा २२ रुपैयाँ ८० पैसाबाट १४१ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ ।
यस अवधिमा लाम्चो भण्टाको मूल्य ४१ दशमलव ३० प्रतिशतले बढेर प्रतिकिलो ४६ बाट ६५ रुपैयाँ पुगेको छ । यस अवधिमा हरियो फर्सीको मूल्य १६० प्रतिशतले बढेर २५ रुपैयाँ प्रतिकिलोबाट ६५ पुगेको छ ।
समितिको दैनिक तथ्यांक हेर्दा असार १७ को तुलनामा असार २४ मा सानो गोलभेडा आयात २४ प्रतिशतले घटेको देखिन्छ । असार १७ मा ४४ मेट्रिक टन आएको सानो गोलभेडा २४ गते ३३ मेट्रिक टनमात्रै आएको छ । यस अवधिमा तितेकरेला आयात ३३ मेट्रिक टनबाट घटेर १६ मेट्रिक टन कायम भएको छ । हरियो फर्सी आयात ११ मेट्रिक टनबाट ३ मेट्रिक टनमा झरेको छ । कालीमाटी तरकारी बजारको तुलनामा स्थानीय बजारमा तरकारीको मूल्य छोइनसक्नु भएको उपभोक्ताको गुनासो छ । सोमवार कीर्तिपुरको तरकारी बजारमा भेटिएकी सरिता महर्जनले सय रुपैयाँ घटीमा कुनै पनि तरकारी नपाएको बताइन् । ‘मैले शुक्रवार ४० रुपैयाँ किलोमा गोलभेडा किनेकी थिएँ आज सय रुपैयाँ पुगिसकेछ । कुनै पनि तरकारी छोइसक्नु छैन,’ उनले भनिन् ।
समितिका सूचना अधिकारी विनय श्रेष्ठले पनि वर्षात्का कारण तरकारी आयात घटेको बताए । ‘वर्षात् शुरू भएपछि तरकारी आयात स्वाभाविक रूपले घट्छ । विशेष गरी मौसमी तरकारी आउने क्रम घटेको छ । पानी परेर बाटो बिग्रेको र किसान पनि रोपाइँमा व्यस्त हुँदा आयात घटेको हो,’ उनले भने । कालीमाटीमा यो बेला मकवानपुर, काभ्रे, चितवन, नुवाकोट, धादिङलगायत जिल्लाबाट तरकारी आउने गर्छ ।