काठमाडौं । नियमित रूपमा भएको वर्षा र तुलनात्मक रूपमा रासायनिक मलको उपलब्धताका कारण साउन १३ गतेसम्म देशभर अघिल्लो वर्षको तुलनामा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार साउन १३ सम्ममा धान रोपाइँ भएको क्षेत्रफल पोहोरको तुलनामा १४ प्रतिशतले बढेको छ ।
मन्त्रालयका अनुसार गतवर्ष साउन १२ सम्म देशभर ७८ दशमलव १ प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष साउन १३ सम्म ९२ दशमलव ४१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । धानखेती हुने १३ लाख ९८ हजार २७१ हेक्टर जमीनमध्ये हालसम्म १२ लाख ९२ हजार २२१ हेक्टरमा रोपाइँ सकिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले गतवर्षको तुलनामा यस वर्ष मनसुन चाँडै सक्रिय भई नियमित वर्षा भएको र रासायनिक मल पर्याप्त उपलब्ध भएकाले रोपाइँ उत्साहजनक रूपमा भइरहेको बताए ।
उनका अनुसार गतवर्ष पर्याप्त वर्षा नहुँदा किसानले समयमै बीउ राख्न पाएनन् । यसो हुँदा रोपाइँमा नकारात्मक असर परेको थियो । ‘यस वर्ष कुल धान रोपाइँको क्षेत्रफल पनि गतवर्षको तुलनामा बढ्ने अनुमान गर्न सकिन्छ । अब १ साताभित्र धान रोपाइँ सकिन्छ,’ उनले भने, ‘यस वर्ष करीब ९८ प्रतिशत जमीनमा धान रोपाइँ हुन सक्ने अनुमान गर्न सकिन्छ ।’ यस वर्ष हालसम्म सबैभन्दा धेरै धान रोपाइँ सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको छ । सुदूरपश्चिममा हालसम्म ९९ दशमलव ६ र कर्णालीमा ९६ दशमलव ९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
कोशी प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ । कोशीमा ९० दशमलव ७ प्रतिशत जमीनमा मात्रै रोपाइँ भएको मन्त्रालयले जानकारी दिएको छ । पश्चिमको तुलनामा पूर्वमा कम पानी परेका कारण रोपाइँ ढिलो भएको हुन सक्ने प्रवक्ता केसीले बताए ।
धान उत्पादन बढ्ने अनुमान
यस वर्ष धान उत्पादन बढ्ने अनुमान छ । रोपाइँ हुने क्षेत्रफल विस्तार हुने देखिएसँगै उत्पादन बढ्ने अनुमान गरिएको हो । प्रवक्ता केसीका अनुसार यसपालि गतवर्ष जस्तो रासायनिक मलको अभाव देखिएको छैन । साथै गतवर्ष वर्षाले पनि किसानलाई साथ दिएको थिएन । यसपालि किसानलाई मौसम र मल दुवैको साथ मिलेको उनको भनाइ छ ।
गतवर्ष पनि अघिल्ला वर्षको तुलनामा धान उत्पादन बढेको थियो । तर, सरकारले त्यसलाई प्रविधिको प्रयोगले उत्पादकत्व बढेको रूपमा व्याख्या गरेको थियो । यस वर्ष उत्पादन वृद्धि अझ बढी सहज हुने केसीको विश्वास छ । गत आव २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । यो अघिल्लो वर्षको दाँजोमा ४ दशमलव ३३ प्रतिशतले बढी हो ।