काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी सुनौलो लगानी योजना साउन मसान्तसम्म ३७ लाख २९ हजार रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको देखिएको छ ।
असार मसान्तसम्म २ करोड ३८ लाख रूपैयाँभन्दा बढी नाफामा रहेको योजना साउन मसान्तमा भने नोक्सानीमा गएको हो । असार मसान्तसम्म ३ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको योजनाको साउन मसान्तसम्म आम्दानी रकम २९ लाख ८९ हजार रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।
खर्च रकम भने असार मसान्तसम्मको तुलनामा साउनमा घटेको छ । असार मसान्तसम्म ६४ लाख २१ हजार खर्च भएकोमा साउन मसान्तसम्म ७ लाख ४० हजार खर्च गरेको हो । प्रति इकाई खुद मूल्य असार मसान्तसम्म १० रूपैयाँ ६५ पैसा रहेकोमा साउन मसान्तसम्म १० रूपैयाँ ५५ पैसा कायम भएको छ ।
खुलामुखी प्रकृतिको यस योजनाले ३ करोड ६६ लाख १ हजार ८०० कित्ता इकाई जारी गरेको थियो । धितोपत्र र बैंक मुद्दती निक्षेपमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले साउन मसान्तसम्म धितोपत्र दलाल कमिसन सहित २७ करोड ९८ लाख ९१ हजार रूपैयाँ लगानी गरेको छ । योजनाले बैंक मुद्दती निक्षेपमा ३ करोड ६० लाख लगानी गरेको छ । धितोपत्रमा गरेको लगानीको मूल्य भने २५ करोड ७३ लाख ५२ हजार रूपैयाँभन्दा बढी मात्र कायम रहेको छ ।