काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौंको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम जेठ महीनाको अन्त्यसम्ममा पूरा हुने बताएका छन् ।
जेठभरि निर्माण पूरा गरी लगत्तै फ्लाइओभरबाट सवारी साधन सञ्चालन हुने उनले बताए । आइतवार बिहान फ्लाइओभर निर्माण कार्यको स्थलगत निरीक्षणका क्रममा उनले निर्माणका बाँकी कामहरू चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए ।
‘अब पनि ढिलाई गर्ने छूट छैन,’ मन्त्री दाहालले भने, ‘परिस्थिति बाहिरको प्राकृतिक विपत्ति नआएमा जेठको अन्त्यसम्ममा गाडी चल्नु पर्छ । यो एउटा प्रतीक्षाको आयोजना पनि हो ।’
फ्लाईओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकाष्ट ग्रिडर पुल सहित एप्रोच सडक तथा कालोपत्र निर्माणको काम भएको हो । फ्लाइओभरमा ट्राफिक लाइट जडानको कार्य पनि हुने छ ।
अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएको र त्यो समाधान भइसकेको बताए ।
यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाइओभर महत्त्वपूर्ण ठानिएकाले यसलाई प्राथमिकताका साथ पूरा गराउन लागि परेको बताए ।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको छ भने हाल आवश्यक भागमा कालोपत्रको काम भइरहेको छ ।
आशिष समानान्तर रेलिगेर जेभी काठमाडौंले फ्लाइओभर निर्माणको काम गरिरहेको छ । १७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण शुरु भएको फ्लाइओभर शुरु ठेक्का सम्झौताबमोजिम २०८० फागुन ११ मा सम्पन्न हुनुपर्ने थियो । तर, निर्धारित समयमा पूरा नभएपछि म्याद थप भई त्यसको निर्माण कार्य अघि बढेको हो ।