काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । चैत २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २०० रुपैयाँको आधारमा कर समेत १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले कर समेत यस वर्ष ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । यस कम्पनीले गत वर्षदेखि लाभांश वितरण गर्न सुरु गरेको हो । गत वर्ष अघिल्लो आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कम्पनीले ५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष कम्पनीको लाभांश १० प्रतिशत विन्दुले बढेको हो ।