साउन २१, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला बन कार्यालय रूकुमका सहायक बन अधिकृत विनोद प्रसाद कानु सहित चार जना उपर मंगलवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नक्कली इजाजतपत्र तयार गरी जिल्ला भित्रका जडीबुटीको चोरी निकासी गराई आफ्नो पदको दुरुपयोग गरेको तथा राजस्व चुहावट गरेको उजुरीका सम्बन्धमा छानविन गर्दा अधिकृत साहले रू. ६ लाख १४ हजार ७३० बराबरको सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारले बताएको छ ।
साथै अनुसन्धानका क्रममा निज साहले आवादीको जग्गाबाट जडीबुटी संकलन गरेको भनी नक्कली चलानी मार्फत् निकासी गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको पुष्टि हुन आएको भन्दै अख्तियारले सो रकम बराबरको विगो माग दावी सहित मुद्दा दायर गरेको छ ।
यसैगरी उक्त जडीबुटी संकलनको इजाजत नलिइन नक्कली चलानीको आधारमा राजस्व दस्तुरसमेत नतिरी गैरकानुनी लाभ लिएको भन्दै दुर्गादिप इन्टरप्राइजेज, काठमाडौंका प्रोप्राइटर दुर्ग बहादुर खड्कालाई रू.१ लाख ६८ हजार ६४०, दिपक जडीबुटी सप्लायर्स एण्ड ट्रेडर्स सुर्खेतका प्रोप्राइटर मान बहादुर वलीलाई रू. १ लाख १८हजार ४० र नेपाल हर्वल प्रोसेसिङ प्लान्ट, बाँकेका प्रोप्राइटर लाल बहादुर वलीलाई रू.३० हजार विगो माग दावी सहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।