इस्लामावाद (पाकिस्तान) । शैक्षिक वर्ष शुरु भएको एक महीना बितिसक्दा पनि शैक्षिक सामग्री नपाएपछि पाकिस्तानको बलुचिस्तानका क्षेत्रका करीब तीन दर्जन विद्यालय बन्द भएका छन् ।
त्यहाँका स्थानीय सञ्चारमाध्यमका अनुसार पाठ्यसामग्रीको अभावले झाल मगसी जिल्लाका विद्यालय बन्द भएका हुन् । यो बलुचिस्तान क्षेत्रको सबैभन्दा उपेक्षित जिल्लामा पर्छ ।
विद्यालयमा शैक्षिक सामग्री नपुगेपछि विद्यार्थी तथा उनीहरूका अविभावक भने आक्रोशित बनेका छन् ।
‘द बलुचिस्तान पोस्ट’ले बलुच विद्यार्थी सङ्गठनका केन्द्रीय प्रवक्तालाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयमा आवश्यक शैक्षिक सामग्री नपुगेकोले नियमित कक्षा सञ्चालनमा कठिनाइ भएको र यसका कारण हजारौं विद्यार्थी निराश बन्नुपरेको छ ।’
‘द बलुचिस्तान पोस्ट’ले चगाई जिल्लाको बालानोस क्षेत्रका लगभग सबै बालबालिका विद्यालय पहुँचभन्दा बाहिर रहेको बताएको छ । त्यहाँका जनता लामो समयदेखि राज्यको गैरजिम्मेवारीको सिकार बनिरहेको प्रवक्ताले बताएका छन् । रासस/एएनआई