बाह्रै महीना अर्थात् बारमासे जुवा जस्तो चल्ने नेपालको शेयर बजार यस्तो खेल मैदान हो, जहाँ लगानीकर्ताले आफूले गधा जोतेको महसूस गर्छन् । सोच्ने र नसोच्नेको नाफा–घाटा उस्तै हुने यो ठाउँमा तपाईंले यी १५ ‘महान्’ नियम अपनाउनुभयो भने शेयरमा रोडपतिबाट करोडपति बन्ने सपना देख्न सक्नुहुन्छ है !
१. साथी छान्नुहोस्, दलाल होइन
शेयर दलालले तपाईंलाई हलाल गर्न सक्छन् । त्यसैले शेयरका बारेमा गफ जोत्न सक्ने केही साथी छान्नुस्, जस्तै छिमेकी काका वा सात पुस्ताका मामा । जब उनले चिया पसलमा ‘अब त उड्यो’ भन्दै शेयर छलफल गर्छन्, पैसा दनादन लगानी गर्नुस् । करोडपति पक्का ।
२. अनुसन्धान हैन, अनुमानमा चल्नुस्
हामी भविष्य त अनुमानमा चलाउँछौं भने जाबो शेयरमा के को अनुसन्धान ? बरु शेयर गफ गर्ने फेसबुक समूहमा ‘रातारात धनी बन्ने तरीका’ किसिमका पोष्टहरू पढ्नुहोस् र त्यसैका आधारमा लगानी गर्नुहोस् । तथ्यांकहरू विश्लेषण गरेर को धनी भा छ र ? तथ्यांक त मिथ्यांक हुन् । इपीएस, कम्पनीको मुनाफा, पीई रेसियो भन्ने र धर्का तान्ने विज्ञहरू पुर्पुरोमा हात लगाइराछन् । बरु अनुमान र हनुमानका भरमा लगानी गर्नुस् र सात पुस्ता पुग्ने पैसा कुम्ल्याउनुस् ।
३. ब्राण्ड होइन, अञ्जान कम्पनीमा लगानी गर्नुहोस्
त्यस्ता कम्पनी छान्नुहोस्, जसको नामसमेत सुन्नुभएको छैन । त्यसको उत्पादन, विक्री केही थाहा छैन । फलानाले भनेको भन्दै पैसा हाल्नुस् र केही हप्तामै तेब्बर चौबर नाफा हुन्छ ।
४. भावनामा भरोसा, डाटालाई बाइ–बाइ
डेटा बोरिङ हुन्छ । आँसुलाई लगानीको हिस्सा ठान्नुस् । घाटा भयो भने ‘भाग्यले लड्डु पाक्दै छ’ भन्ठान्नुस् । जीवनमा भावनाको ठूलो महत्त्व छ, तर्कको होइन । भावनामा चल्नुस्, बरु घाटा होस्, तर डाटामा होइन । सबैले जुन कम्पनी किनिरहेका छन् वा जुन बेचिरहेका छन्, त्यतैतिर लाग्नुस् । अनि तपाईं बजारको पक्का खेलाडी बन्नुहुन्छ ।
५. ‘स्टप–लस’ कहिल्यै नलगाउनुस्
‘स्टप–लस’ अर्थात् हानिविराम आदेशले शेयरको मूल्य घट्दा घाटाबाट बच्न मद्दत गर्छ भन्छन् । तर यो पेन्सिलको त्यो रबर जस्तो हो, जो कहिल्यै प्रयोग गरिन्न । तसर्थ, ‘स्टप–लस’ कहिल्यै नलगाउनुस् । किनभने भाग्यमा छ भने डोकामा पनि दूध अडिन्छ, छैन भने अडिन्न ।
६. ऋण लिएर लगानी गर्नुस्
आफ्नो पैसाले त शेयरमा लगानी गर्ने नै होइन । बैंकसँग नभए सहकारी वा मीटरब्याजीसँग पैसा सापटी लिएर भए पनि लगानी चैं गर्नुस् । पैसा पनि अरूकै, बुद्धि पनि अरूकै प्रयोग गर्ने हो क्या ! तर नाफा तिनैैले गर्छन्, जसले लगानी गर्छन् । विनालगानी नाफा त नेता र कर्मचारीले मात्र गर्छन् ।
७. एउटै कम्पनीमा सबै पैसा खन्याउनुस्
कतिपय लगानीकर्ताहरू पोर्टफोलियो व्यवस्थापन गर्ने वा लगानी विविधीकरण गर्ने नाममा धेरैओटा कम्पनीमा लगानी गर्छन् । कतिपयमा आम्दानी हुन्छ, कतिपयमा घाटा हुन्छ । अन्त्यमा त्यो लगानी हात लाग्यो शून्य हुन पुग्छ । तसर्थ, सबै पैसा एउटै कम्पनी वा समूहमा खन्याउनुस् । त्यसपछि आफ्नो लगानीलाई कौडाको खेल सम्झेर पर्खिनुस् । के थाहा, भगवान्ले तपाईंलाई हेरेर मुस्कुराइरहनु भएको छ कि ?
८. जोखिम लिने कामै छैन
इन्ट्रा–डे व्यापारका सुनौला नियमहरूमध्ये एक हो– जोखिम लिने कामै छैन । स्टकहरूको निगरानी गर्ने नाममा तिनको मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रिपोर्टहरू पढेर आफ्नो समय व्यर्थमा नगुमाउनुहोस् । पैसा भन्दा समय बचाउनुबुद्धिमानी हो ।
९. थाहा छैन भने अरूको सुन्नुहोस्
कहाँ लगानी गर्र्ने भनेर सोच्न सक्नुभएको छैन भने अरूले जे गर्छन्, तपाईं पनि त्यै गर्नुस् । अरू जेमा डुबे, तपाईं पनि त्यसैमा डुब्नुस् । किनकि जीवनमा एकपटक ‘टाइटानिक’ अनुभव पनि लिनुपर्छ नि । खोला जता बग्छ, उतै बग्नुस्, यसो छालले साथ दिएछ भने दामी कमाइ भइहाल्छ ।
१०. अफवाहलाई नजरअन्दाज नगर्नुस्
फेसबुक अफवाह शेयर बजारको ‘मोहिनी’ हो । त्यसैले फेसबुक र भाइबर समूहहरूमा दिइने सल्लाहलाई कहिल्यै नजरअन्दाज नगर्नुहोस् । शेयर बजार यिनै अफवाहहरूले चल्ने हो, अनुसन्धानले होइन । हल्लै हल्लाले हल्लिने नेपालको शेयर बजारमा हल्लाको पछि लाग्नुभयो भने चल्ला त कसो फेला नपर्ला र हँ ?
११. ज्ञान बेकार हो
अहिलेको एआई युगमा ‘ज्ञान’ होइन, ध्यानको शक्ति प्रबल हुन्छ । आँखा चिम्म गरेर ‘शेयरका बादशाह’ भनिने काकाहरूको सल्लाह मान्नुस् । क्लब हाउसको गफ सुन्नुस् वा युट्युबरका भिडियो हेर्नुस् ।
१२. यथार्थवादी बन्नुहोस्
शेयर बजार जीवन जस्तै हो– कहिले हँसाउने निरा कहिले रुवाउने । त्यसैले नाफा, घाटा र लगानीबारे यथार्थवादी बन्नुहोस् । शेयर बजारले तपाईंलाई रातारात धनी पनि बनाउन सक्छ वा दिन दहाडै गरीब पनि बनाउन सक्छ । तर शेयर बजारमा २० प्रतिशतले कमाउँछन् र ८० प्रतिशतले गुमाउँछन् भन्ने कुरामा चैं ध्यानै नदिनुस् ।
१३. करोडपति बन्ने सपना देख्नुहोस्
शेयरमा लगानी गर्न आफैले निर्णय गर्नुपर्छ भनेर संविधानमा कतै पनि लेखेको छैन । अरूले जहाँ जहाँ लगानी गरिरहेका हुन्छन्, तिनीहरूकै पछि लाग्नुस् । अरूहरूको बाटो नै तपाईंको सफलता हो भन्ने मूल मन्त्र नबिर्सिनुहोला । सपना नदेखी धनी बन्ने ? अहँ सम्भव छैन । घाटा त भाग्यको कुरा हो । त्यसैले, घाटाको डरलाई पूरै बेवास्ता गर्दै करोडपति बन्ने सपना मात्र देख्नुहोस् ।
१४. हिसाब गर्न छाड्नुहोस्
नाफाघाटालाई खेल सम्झेर मज्जा लिनुस् । यति नाफा भयो वा यति घाटा भयो भनेर हिसाब गर्न छाड्नुहोस् । जसरी विदेश जाँदा विदेशी मुद्रासँग नेपालीमा कति पर्छ भनेर हिसाब गर्न थाल्नुभयो भने विदेश घुम्दाको मजा हराउँछ, त्यसैगरी शेयरमा नाफा–घाटाको हिसाबले जीवनको मजा बिग्रिन्छ ।
१५. समाचारको पछि नलाग्नुस्
कम्पनीहरूका समाचार, तथ्यांक वा बजारका प्रवृत्तिहरूमाथि चासो राख्नु समयको बर्बादी हो । बजार कहिले बढ्छ कहिले घट्छ । यो कसैको नियन्त्रणमा हुँदैन । त्यसैले ‘चिन्ता हटाउनुस् र ढुक्कसँग सुत्नुस्’ भन्ने नीति अपनाउनुस् । बिउँझिँदा तपाईं करोडपति भइसकेको हुन के बेर ?
माथिका उपायहरूले पनि काम गरेन भने शेयर बजारको अन्तिम ब्रह्मास्त्र छान्नुस्, गाई कि त्रिशूल । गाई आए किन्नुस्, त्रिशूल आयो भने बेच्नुस् ।