चितवन । श्री एयरलाइन्सले भोलिदेखि काठमाडौं-भरतपुर–काठमाडौं रुटमा उडान गर्ने भएको छ । कम्पनीले क्यु४००-८ को ८० सिटे जहाजबाट उडान गर्न लागेको जनाएको छ ।
'शुक्रवारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौं,' कम्पनीका कर्पोरेट निर्देशक अनिल मानन्धरले भने, 'नियमित उडान शुरू भएपछि उक्त रुटमा दैनिक दुईओटा उडान हुनेछ ।'
धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव नभएको एयरलाइन्सले जनाएको छ । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने एयरलाइन्सको तयारी छ ।
उनका अनुसार उक्त रुटमा एकतर्फी भाडादर ४ हजार ५०० रुपैयाँ राखिएको छ । अहिले भरतपुर-काठमाडौं-भरतपुर रुटमा बुद्ध एयरले एटीआर-४२ मार्फत दैनिक ९ ओटा उडान गर्दै आएको छ ।