एजेन्सी । श्रीलङ्काले सोमवार पहिलो त्रैमासिकमा कमजोर विदेशी मुद्रा सङ्कटबाट सुधार जारी राख्दै अर्थतन्त्र अपेक्षाभन्दा धेरै बलियो बनेको जनाएको छ ।
जनवरीदेखि मार्चसम्ममा ५.३ प्रतिशत विस्तारले अघिल्लो तीन महिनाको तुलनामा वृद्धि देखिएको छ । गत वर्षको सोही अवधिमा अर्थतन्त्रमा १०.७ प्रतिशत सङकुचन थियो । ब्लूमबर्ग न्यूजको सर्वेक्षणमा ४.० प्रतिशतको पूर्वानुमान रहेको तर पहिलो त्रैमासिकको सुधारले अनुमान गरिएभन्दा बढी (५.३ प्रतिशत) सुधार देखिएको हो ।
उप–अर्थमन्त्री रञ्जित सियाम्बलापितियाले सरकारले सन् २०२४ मा समग्र वार्षिक वृद्धि २.२ प्रतिशत हुने अपेक्षा गरेको बताए । सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरेको दुई वर्षपछि सकारात्मक वृद्धि हासिल गर्न सफल हनु उल्लेखनिय भएको उनले बताए ।
आधिकारिक तथ्याङ्कले सन् २०२३ को जनवरीदेखि मार्चसम्ममा २४.३ प्रतिशत सङुकुचनको तुलनामा पहिलो त्रैमासिकमा ११.८ प्रतिशतको विस्तारका साथ औद्योगिक क्षेत्रमा तीव्र सुधार देखिएको छ ।
सेप्टेम्बर २०२२ मा मुद्रास्फीति ७० प्रतिशतको शिखरबाट मेमा ०.९ प्रतिशतमा झरेको कारण निर्माण क्षेत्रमा पनि सुधार देखिएको छ ।
गत हप्ता अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलङ्कालाई चार वर्षको २.९ अर्ब डलर कर्जा सहयोगको एक भागको रूपमा तीन करोड ३६ लाख अमेरिकी डलर प्राप्त गरेको थियो । श्रीलङ्का सन् २०२२ अप्रिलमा ४६ अर्ब डलरको विदेशी ऋण तिर्न नसक्दा आर्थिक सङ्कटमा परेको थियो ।
सन् २०२२ मा आर्थिक सङ्कटको चरम अवस्थामा आयातका लागि विदेशी मुद्रा समाप्त भएपछि श्रीलङ्कामा महिनाौँसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव देखिएको थियो । यसैको परिणामस्वरूप शुरू भएको नागरिक आन्दोलनले तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षको निवासमा आक्रमण गरेको र आन्दोलनले उनलाई पदबाट हट्न बाध्य बनाएको थियो ।
उनका उत्तराधिकारी रनिल विक्रमसिङ्घेले आर्थिक सङ्कटलाई व्यवस्थापन गर्न उदार ऊर्जा अनुदान फिर्ता लिएका थिए भने करलाई दोब्बर बनाई राज्यको राजस्व बढाउन वस्तुहरूको मूल्य बढाएका थिए ।