काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको सिद्धार्थ इक्वीटी फण्डले पुस मसान्तसम्म १७ करोड ८९ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ ।
मंसिर मसान्तसम्मको तुलनामा योजनाको नाफा कम भएको हो । मंसिर मसान्तसम्म योजनाले २० करोड ३२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
यो महीना योजनाको आम्दानी घटेको र खर्च बढेको कारण नाफामा असर परेको हो । मंसिरमा २१ करोड ६९ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले १ करोड ३७ लाख रुपैयाँभन्दा बढी खर्च गरेको थियो । पुसमा भने १९ करोड ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले १ करोड ६१ लाख रुपैयाँभन्दा बढी खर्च गरेको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १५ करोड इकाई २०७४ सालमा जारी गरेको थियो । मंसिर मसान्तसम्म ११ रुपैयाँ ६४ पैसा रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति पुस मसान्तसम्म भने ११ रुपैयाँ ४८ पैसा कायम भएको छ । यस अवधिसम्म योजनाको खुद सम्पत्ति भने १ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
पुस मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य १ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यो लगानीको बजार मूल्य भने १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मात्र छ ।