काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालमा १० दिनअघि दुईओटा बस बगाउने गरी पहिरो जानुको मुख्य कारण स्थानीय तहले बनाएको सडकबाट आएको ढुंगामाटोसहितको लेदो रहेको निष्कर्ष सरकारी अध्ययन टोली निकालेको छ ।
मूल राजमार्गमाथि स्थानीय तहले जथाभावी सडक बनाउँदा राजमार्गमा जोखिम बढेको सडक विभाग तथा विज्ञहरूले लामो समयदेखि बताउँदै आएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको अध्ययन समितिको प्रतिवेदनको निष्कर्षले पनि उक्त तर्कमा बल पुगेको छ ।
असार २८ गते आएको पहिरोमा परी दुईओटा यात्रुवाहक बस त्रिशूलीमा खस्दा बसमा रहेको अधिकांश यात्रु अझै हराइरहेका छन् । दुईओटा बसमा गरेर ६५ यात्रु रहेकोमा तीन जना जिउँदै उत्रिएका छन् भने केही यात्रु त्रिशूली नदीमा मृत फेला परेका छन् ।
दुर्घटनापछि असार ३० गते १ सातामा प्रतिवेदन बुझाउने गरी मन्त्रालयले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका सुपरिटेन्डेन्ट इन्जिनीयर ज्ञानेन्द्रकुमार झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले सोमवार मन्त्रालयमा सुझावसहितको प्रतिवेदन बुझाएको छ । सिमलतालमाथिको डुम्रे गाउँको पहिरो झरेको बिन्दुसम्म पुगेर अध्ययन गरिएको र त्यसका आधारमा ठूलो पानी पर्दा लेदोसहितको पहिरो झरेर दुर्घटना भएको समितिका एक अधिकारीले आर्थिक अभियानलाई बताए ।
सडक डिभिजन, भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलले भरतपुर महानगरपालिकाको वडा न. २९ को डुम्रे गाउँमा चालू आर्थिक वर्ष २०८०/८१ मा ६५० मीटर बाटो वडा कार्यालयले खनेको र पहिरो त्यहीबाट शुरू भएको देखिएको बताए । ‘करीब ९०० मीटरमाथिबाट पहिरो खसेको हो । जमीन नै निकै संवेदनशील छ । हाई स्लोप छ । माथि बाटो, गोरेटो खने पनि पहिरो जाने अवस्था छ,’ उनले भने ।
स्थानीय तहका पदाधिकारीलाई पटक–पटक सडक खन्न रोक्न आग्रह गर्दा पनि नटेरेका कारण असार २८ गते दुर्घटना भएको पौडेलले बताए ।
‘सबैलाई नजिक र छोटो पर्ने भन्दै एउटा डोजर लगेर बाटो खनिएको छ । वातारणीय प्रभाव मूल्यांकन, डिजाइन, सर्वेक्षणविना सडक बनेका छन्,’ उनले भने । भरतपुर महानगरपालिकाको वडा नं. २९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङले मुग्लिन–नारायणगढ सडक खण्डमाथि गाउँ पुग्नका लागि बाटो बनाउन खनिएको स्वीकारे । ‘त्यही खनेर थुपारिएको माटो बगेर आएको हुँदा क्षति भएको भनिएको छ,’ गुरुङले भने, ‘यद्यपि मैले हेर्दा गाडी नै बगाउने गरी पहिरो खसेको छैन ।’
यो स्थानमा बाटो खनिरहेको १५ वर्ष जति भएको भन्दै उनले पाखोको बाटो भएकाले भत्किरहने गरेको बताए । ‘केही वर्षअघि वातावरणीय प्रभाव मूल्यांकन गर्ने भनिएको थियो । तर, गाँउका उपभोक्ता समिति र इन्जिनीयरको अनुमानमा सडक निर्माण गरिँदै आएको छ,’ उनले भने, ‘नारायणगढ–मुग्लिन सडकमा जहिले पनि पहिरोको समस्या छ, जनताले बाटो मात्रै भन्छन् ।’
नारायणगढ–मुग्लिन सडक खण्ड भौगर्भिक हिसाबले कमजोर रहेको यसको विस्तार गर्नुअघि गरिएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको छ । यस कारण तीन क्षेत्रमा प्रत्येक वर्ष पहिरो जान सक्ने औंल्याइएको छ । सडक विस्तारको क्रममा गहिरो उत्खनन गर्दा भित्तामा अस्थिरता आई पहिरो जाने जोखिम औंल्याइएको छ । प्राकृतिक ढल निकास भएको क्षेत्रमा बाढीको पनि समस्या आउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
पौडेलका अनुसार यो खण्डमा २०७९ मा ३६ पटक पहिरो खस्दा १३४ घण्टा बाटो अवरुद्ध भएको थियो । २०८० मा ३० पटक पहिरो खस्यो, जसले गर्दा १२४ घण्टा बाटो अवरुद्ध भयो । २०८१ को यो सिजनमा ६ पटक पहिरो खस्दा १९ घण्टा बाटो अवरुद्ध भएको हो । २०७९ देखि अहिलेसम्म पहिलोपटक मानवीय क्षति भएको उनको भनाइ छ । सार्वजनिक सडक ऐन, २०३१ मा पहुँचमार्ग खोल्न सडक विभागको अनुमति लिनुपर्ने व्यवस्था छ । ‘पूर्वअनुमति नलिईकन पहुँचमार्ग बनाउने कुरा हामीले पनि रोक्न सकेका छैनौं,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले भने । नारायाणगढ–मुग्लिन सडक खण्डको सिमलताल क्षेत्रमा आएको पहिरोले सोहोरिएर दुईओटा बस त्रिशूलीमा बगेपछि यो सडक खण्डको भौगर्भिक अवस्था र सडक वरिपरि भइरहको निर्माण गतिविधिमा प्रश्न उठेको हो ।
सरकारी अधिकारीहरूले चुरेक्षेत्र पर्ने भएकाले यो खण्डमा भौगर्भिक अवस्था कमजोर रहेको त्यस्तो भौगर्भिक अवस्था भएका जमीनमा यो सडक खण्ड जोड्ने गरी जथाभावी पहुँचमार्ग निर्माण गर्दा पहिरोको जोखिम बढेको बताएका छन् । खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा प्रवक्ता मोनिका झाले यो भेग चुरेक्षेत्रअन्तर्गत पर्ने भएकाले कमजोर चट्टान रहेको हुँदा पहिरोको जोखिम सधैं रहिरहने बताइन् ।
त्यहाँको स्थानीय निकायले बनाएको सडकबाट ढुंगामाटो बगाएर ल्याउँदा समस्या भएको झाले बताइन् । ‘पहिरो रोक्ने उपाय अवलम्बन गर्नुका साथै त्यो क्षति कसरी कम गर्ने भन्नेमा ध्यान दिन जरुरी छ,’ उनले भनिन् । नारायणगढ–मुग्लिन खण्डमा पहिरोका विषयमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले २००८ मो अध्ययन गरेको थियो । उक्त अध्ययनमा समेत सहभागी वरिष्ठ भूगर्भविद् श्रीकमल द्विवेदीले जहाँसुकै बाटो बनाउने, खोतल्ने र पहाड काट्ने गर्दा यो राजमार्गमा जोखिम बढेको बताए । ‘यो खण्ड भनेको पहाड काटेर तराईतिर निस्केको छ । गल्छी जस्तो छ भने हाई स्लोपमा सडक बनेको छ । यो धेरै पानी पर्ने क्षेत्र हो । भिरालो जमीनमा पहिरो आउनु स्वाभाविक हो,’ उनले भने ।