काठमाडौं। सिन्धु विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले शुक्रवार केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच पदभार सम्हालेका छन् । बैंकको सञ्चालक समितिले देवकोटालाई चार वर्षका लागि कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । बैंकमा आयोजित पदभार ग्रहण कार्यक्रममा देवकोटाले संस्थागत सुशासन र नियामकीय अनुपालना आफ्नो मुख्य प्राथमिकता रहेको बताए । अहिलेको विषम परिस्थितिलाई चिर्दै आगामी दिनमा बैंकलाई सबल, सक्षम र उदारणीय बैंक बनाउने योजना रहेको पनि बताए ।
करीब दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटाले आफ्नो बैंकिङ करीअर २०६२ सालमा नेपाल बैंक लिमिटेडबाट शुरू गरी लामो समय नेपाल बंगलादेश बैंकमा बिताएका थिए । देवकोटाले नेपाल बंगलादेश बैंकमा रहँदा प्रमुख वित्त अधिकृत, प्रमुख सञ्चालन अधिकृत, प्रमुख जोखिम अधिकृतलगायत कार्यकारी पदहरूमा रहेर आफूलाई अब्बल सावित गरेका थिए । तत्कालीन नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिएपश्चात् देवकोटाले नबिल बैंकको प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।
चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का पूर्वपार्षद् रहनुका साथै नेपाल लेखामान बोर्डका सदस्यसमेत रहेका थिए । देवकोटाले नेपाल ग्रामीण विकास बैंक, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सलगायत संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् । बैंकिङ, वित्तीय क्षेत्र र पूँजी बजारमा विशेष दखल राख्ने देवकोटाको नेतृत्वमा सिन्धु विकास बैंकले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास बैंक सञ्चालक समितिले लिएको छ । देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र कानून विषयमा एलएलबि पनि गरेका छन् ।