नेपालको भित्री मधेशमा अवस्थित सिन्धुली, जनकपुर अञ्चलअन्तर्गतको एक जिल्ला हो । राजधानी काठमाडौंबाट तराई हुँदै यस जिल्लासम्म पुग्न करीब ४ सय किलोमिटर दूरीको यात्रा पार गर्नुपर्छ । तर, बन्दै गरेको सिन्धुली–बनेपा सडकले राजधानीसँग सिन्धुलीको दूरी आधा घटाइदिएको छ । निर्माणाधीन बर्दिवास—सिन्धुली—बनेपा सडकअन्तर्गत सिन्धुलीमाढी–नेपालथोक सडक खण्ड सिन्धुली जिल्लाको विकासको सम्भावित ढोका हो ।
यस खण्डअन्तर्गत सिन्धुलीमाढी—खुर्कोट, रातमाटा खण्ड र नेपालथोक खण्ड गरी करीब ५० किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । तराईदेखि चीनको सीमासम्म जोड्ने बीपी राजमार्ग तथा मध्यपहाडी राजमार्ग यही जिल्ला हुँदै निर्माण भएका छन् । पछिल्लो समयमा भएका सञ्चार, शिक्षा, स्वास्थ्य तथा ग्रामीण क्षेत्रका बजारहरू जिल्लाको विकासका पूर्वाधारहरूमा जग राख्न सक्ने संरचनाहरू हुन् । कृषि तथा वन र जडीबुटी जिल्लाबासीको जीवनयापनका साथै आर्थिक विकासका आधार हुन् ।
जिल्लाको नामकरण
सिन्धुली जिल्लाको नामका विषयमा विभिन्न किसिमका जनश्रुतिहरू छन् । नेपाल एकीकरणपूर्व यो जिल्ला मकवानपुर राज्यअन्तर्गत पर्दथ्यो । विसं १५३० तिर मकवानपुरे राज्यका शासक राघव नरेन्द्र सेन थिए । यी राजा भगवान श्रीरामको परम् भक्त भएकाले आफ्नो नाम सिन्धुल राखेका थिए । पछि यिनै राजाको उपनामबाट यो क्षेत्रको नाम सिन्धुल रहन गएको हो । त्यस्तै, सिन्धुली सदरमुकामबाट करीब ११ किलोमिटरको दूरीमा सिद्धबाबाको मन्दिर छ । मन्दिर वरपरको क्षेत्रलाई सिद्धस्थलीका नामले चिनिन्छ । अन्ततः सिद्धस्थली अपभ्रंश भई सिन्धुली बनेको हो भन्ने अर्को जनश्रुति पनि छ । यद्यपि, २००७ सालसम्म पूर्व २ नम्बर भनेर चिनिने यस जिल्लाको नाम किन सिन्धुली हुन पुग्यो भन्ने विषयमा यकिन जानकारी भने पाइँदैन ।
भौगोलिक अवस्थिति :
अक्षांश : २६ डिग्री ५५ मिनेटदेखि २७ डिग्री २२ मिनेट उत्तर
देशान्तर : ५८ डिग्री १५ मिनेटदेखि ८६ डिग्री २५ मिनेट पूर्व
कुल क्षेत्रफल : २ हजार ४ सय ९१ किलोमिटर
सिमाना : पूर्व– उदयपुर र सिराहा, पश्चिम– रौतहट, काभ्रेपलाञ्चोक र मकवानपुर, उत्तर– रामेछाप र ओखलढुङ्गा, दक्षिण– सर्लाही, महोत्तरी र धनुषा कमलामाई नगरपालिका
सिन्धुली जिल्लाको सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकाको नाम यस क्षेत्र हुँदै बग्ने प्रसिद्ध नदी कमलाको नामबाट राखिएको हो । कमला उपत्यकाको सिन्धुलीमाढीमा अवस्थित कमलामाई नगरपालिकाको घोषणा २०५३ सालमा भएको थियो । नगरपालिका घोषणा हुँदा सिद्धेश्वर र भिमान दुईओटा गाविसलाई समेटिएको थियो । नगरपालिकाको पूर्वमा रानीचुरी, रानीबास, भीमस्थान र बेलघारी गाविस पर्दछन् भने पश्चिममा डाँडीगुराँसे र भद्रकाली गाविस छन् । त्यस्तै, उत्तरमा रतनचुरा र भद्रकाली गाविस छन् भने दक्षिणमा सर्लाही, महोत्तरी र धनुषा जिल्लास्थित चुरेपहाड पर्दछन् । कमलामाई नगरपालिकाको लम्बाइ (पूर्व–पश्चिम) ३३ किलोमिटर छ । तर, चौडाइ भने एकैनासको छैन । यसको सरदर चौडाइ ७ किलोमिटर रहेको छ ।
कुल २० हजार ५ सय १२ हेक्टर क्षेत्रफल भएको कमलामाई नगरपालिकाको ११ हजार १ सय ९६ हेक्टरमा वनजङ्गल, ५ हजार ४ सय ३२ हेक्टर खेतीयोग्य जमीन, २ हजार ५ सय ६१ हेक्टरमा नदीनाला र १ हजार ३ सय २३ हेक्टर क्षेत्रफल बस्ती तथा बजारले ओगटेको छ । भिमान, सिन्धुली, धुरा र ढुङ्ग्रेबास नगरपालिका क्षेत्रका प्रमुख बजार हुन् । यसबाहेक सिन्धुली तथा भिमान बजारमा साप्ताहिक हाटबजारसमेत लाग्ने गर्छ ।
धार्मिक तथा ऐतिहासिक स्थल
पर्यटकीय दृष्टिकोणबाट अत्यन्त सुन्दर सिन्धुली जिल्लाको धार्मिक एवम् ऐतिहासिक महत्व पनि उच्च छ । कुशेश्वर महादेव, सिद्धबाबा, कालिकामाई तथा कमलामाई यहाँका मुख्य मन्दिर हुन् । नगरपालिका हुँदै बग्ने कमला नदी देशभर प्रसिद्ध छ । नगरपालिकास्थित रानीचुरी डाँडो जिल्लाकै ऐतिहासिक स्थल हो । सिन्धुलीमाढी उपत्यकादेखि केही माथि डाँडामा ऐतिहासिक सिन्धुलीगढी दरबारको भग्नावशेष छ । यो गढीमा नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहका सेनाले कप्तान किनलोकको नेतृत्वमा रहेका अङ्ग्रेजी सेनालाई पराजित गरेका थिए । पछि राणाकालमा यस स्थानमा दरबार बनाई यो क्षेत्रको प्रशासनिक केन्द्र बनाइएको इतिहास छ ।
सिन्धुली उपत्यकालाई मरीनखोला उपत्यकाका नामले पनि चिनिन्छ । मरीनखोला उपत्यका बागमती नदी काटेपछिको पहाडीक्षेत्रको पूर्वतर्फ पर्छ । मरीनखोलाले बनाएको यो साँघुरो उपत्यका पूर्वमा कमला त्रियुगा डाँडासम्म फैलिएको छ । यो उपत्यका सिन्धुलीका साथै पश्चिमतर्फ मकवानपुर जिल्लासम्म पुगेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.