काठमाडौं । भदौ ३ गतेदेखि विक्रीमा आएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि आवेदन दिने अवधि थप भएको छ । कम्पनीले यसअघि हकप्रद शेयर खरीदका लागि भदौ २४ गतेसम्मको अवधि तय गरेकोमा उक्त अवधिसम्म मागबमोजिम आवेदन नपरेपछि आवेदन दिने अवधि भदौ ३१ गतेसम्मका लागि थप गरेको हो ।
भदौ २३ गतेसम्म ४० हजार २९६ जनाबाट २१ लाख ८४ हजार २५२ कित्ता हकप्रद शेयर खरीद माग भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासनमा आएको हो ।
हकप्रद शेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । शेयरधनीहरूले यो हकप्रद शेयर खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन् । त्यस्तै सीडीएससीको मेरो शेयर एपबाट पनि हकप्रद शेयरमा आवेदन दिन सकिनेछ ।
हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।