काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८७ दशलमव ४३ प्रतिशत घटेको छ ।
कम्पनीले गत आवमा रू. १ करोड ५१ लाख नाफा कमाएकोमा चालू आवमा रू. १९ लाखमा झरेको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेसँगै नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ८७ प्रतिशत रहेकोमा चालू आवमा बढेर ६ दशलमव ५४ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले पनि नाफा प्रभावित भएको हो ।
गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. २८ लाख २४ हजार रहेकोमा चालू आवमा बढेर रू. ४३ लाख २३ हजार पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. १३ लाख ७६ हजार ऋणात्मक छ ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ७८ पैसा रहेकोमा चालू आवमा घटेर २ रुपैयाँ ८६ पैसामा झरेको हो । त्यस्तै चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २२१ दशमलव २३ र तरलता अनुपात ९ दशमलव ७५ प्रतिशत छ ।
चुक्ता पूँजी रू. २६ करोड ६४ लाख रहेको कम्पनीले पहिलो त्रैमाससम्ममा जगेडामा रू. ३२ करोड २९ लाख सञ्चिति गरेको छ ।