काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्ममा कुल सक्रिय जीवन बीमालेखको संख्या १ लाखभन्दा बढीले घटेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार यो आवको पहिलो तीन महीनासम्ममा सक्रिय जीवन बीमालेखको संख्या १ करोड ३७ लाख ६६ हजार ४४८ छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा १ लाख १ हजार १३३ (०.७३ प्रतिशत)ले कम हो । गत आवको सोही अवधिमा यस्तो बीमालेखको संख्या १ करोड ३८ लाख ६७ हजार ५८१ थियो ।
चालू आवको पहिलो त्रैमासिकमा म्यादी र लघु म्यादी जीवन बीमालेखको संख्या ह्ववात्तै घटेपछि कुल सक्रिय जीवन बीमालेखको संख्यामा कमी आएको तथ्यांकले देखाउँछ । यो अवधिमा उक्त बीमालेखको संख्या ७ लाख १५ हजार ७८४ (१०.६७ प्रतिशत)ले घटेको छ । गत आवको पहिलो त्रैमासमा ६७ लाख ५ हजार ४८९ रहेको यस्तो बीमालेख चालू आवको सोही अवधिमा घटेर ५९ लाख ८९ हजार ७०५ कायम भएको छ ।
यो अवधिमा जीवन बीमालेख (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखबाहेक)को संख्या ७० हजार ९२३ (१.२५ प्रतिशत)ले घटेको छ । गत आवको असोज मसान्तसम्म ५६ लाख ६१ हजार १०९ रहेको यस्तो बीमालेख चालू आवको सोही अवधिसम्म घटेर ५५ लाख ९० हजार १८६ कायम भएको छ ।
चालू आवको पहिलो त्रैमासमा वैदेशिक रोजगार बीमालेखको संख्या भने ६ लाख ८५ हजार ५७४ (४५.६८ प्रतिशत)ले बढेको छ । गत आवको पहिलो त्रैमासमा १५ लाख ९८३ रहेको यस्तो बीमालेख चालू आवको सोही अवधिमा बढेर २१ लाख ८६ हजार ५५७ कायम भएको छ ।
पहिलो त्रैमासमा कुल निर्जीवन बीमालेखको संख्या भने बढेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार गत असोज मसान्तसम्म कुल निर्जीवन बीमालेखको संख्या ७ लाख ३९ हजार ९३० छ । गत वर्षको असोज मसान्तसम्म यस्ता बीमालेखको संख्या ६ लाख ८४ हजार ४३६ थिए ।
कुल सक्रिय जीवन बीमालेखको संख्या घटे पनि कुल जीवन बीमा शुल्क संकलन भने १.२२ प्रतिशतले बढेको छ । यस्तै, कुल निर्जीवन बीमा शुल्क संकलन १०.७० प्रतिशतले बढेको छ । जम्मा बीमा शुल्क संकलन ३.१५ प्रतिशतले बढेको छ ।