काठमाडौं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडी (ईभी) कोनाको खरीदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले कोनामा ‘जेरो इमिसन, जेरो इन्ट्रेस्ट’ योजना ल्याएको हो ।
दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई थप बलियो बनाउन यो योजना ल्याएको बताइएको छ । यस योजनाअन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षको लागि ५० प्रतिशत डाउनपेमेन्टमा कोना खरीद गर्न सक्ने बताइएको छ ।
दुईओटा भेरियन्टमा उपलब्ध हुन्डाई कोनाको मूल्य रू. ५९ लाख ९६ हजार र जीएलएस भेरियन्टको मूल्य रू. ६४ लाख ९६ हजार रहेको छ । यी गाडीमा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९ दशमलव २ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेकोले यसको रेन्जसमेत बढ्ने बताइएको छ । सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट रहेको बताइएको छ ।