चितवन। मैयादेवी कन्या कलेज भरतपुर र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजना एवं विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ‘तीनदिने उद्यमशीलता विकासमा शैक्षिक संस्था र निजीक्षेत्रको भूमिका’ विषयक कार्यशाला शुरू भएको छ ।
कलेजमा अध्ययनरत विद्यार्थीलाई स्वरोजगार बनाउन र शैक्षिक प्रणालीमा सुधार गर्दै स्वरोजगार बनाउन कार्यशाला आयोजना गरिएको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।
कार्यक्रममा मैयादेवी कन्या कलेजका संरक्षक प्रेमकुमार श्रेष्ठले हातमा प्रमाणपत्र लिएरमात्र व्यक्ति रोजगारीका लागि उपयुक्त नहुने भन्दै आवश्यकताअनुसारको शिक्षा र अनुभवको खाँचो रहेको औंल्याए । उनले निजीक्षेत्र र शैक्षिक संस्था मिलेर उद्यमशीलता विकासका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले निजी क्षेत्र र शैक्षिक संस्थाबीचको ज्ञान साझेदार गरेर चितवन जिल्लाको आर्थिक, सामाजिक, क्षेत्रको विकासका साथै कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकासका लागि के गर्न सकिन्छ भन्ने तथ्यांक उपलब्ध गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने र उद्योग र शैक्षिक संस्थाबीचका आवश्यकता र समस्याबारे समाधान खोज्न कार्यक्रम फलदायी हुने बताए ।
कार्यशालामा व्यवसाय विकासमा निजीक्षेत्र, सार्वजनिक क्षेत्र र शैक्षिक क्षेत्रको भूमिका विषयमा संघका कार्यकारी निर्देशक निलबहादुर केसीले प्रस्तुतीकरण दिएका थिए । यस्तै, पर्यटन र उद्यमशीलताका विषयमा संघका पूर्व विशिष्ट सदस्य एवं मैयादेवी कन्या कलेजका अनुसन्धान तथा प्रकाशन प्रमुख डा. विश्वराज सुवेदीले प्रस्तुतीकरण गरेका थिए ।